एक बिहान सभा शुरु हुनै लाग्दा अकबरले आफुले राति देखेको सपनाको बारेमा सुनाए । उनले भने “मैले सपनामा एकबाहेक सबै दात गुमाएको थिए । यसको परिणाम के हुन सक्छ ?“ त्यस दिनको सभामा वीरबल चाहिँ थिएनन् । भएका मन्त्री र भारदार अर्थात् सभासदहरुले केहि भन्न सकेनन् । अन्ततः यस कामका लागि ज्योतिषीहरु झिकाइए । राजाले ती ज्योतिषीहरुलाई आफुले देखेको सपनाको बारेमा सुनाए । “ महाराज ! हजुरका आफन्त र इष्टमित्रहरु हजुर भन्दा अघि नै मर्ने छन् ।“ ज्योतिषका कुरा सुनेर अकबरलाई निकै दिक्क लाग्यो । उनले ज्योतिषलाई बिना पारिश्रमिक बिदा गरे । अकबर लाई सपनाले सताइरह्यो । उनी जुनसुकै बेला सपना र ती ज्योतिषले भनेको कुरा सम्झन्थे ।

केहि दिनपछि बाहिर गएका वीरबल सभामा हाजिर भए । कहिले वीरबल आउलान र सपनाको कुरा सुनाउला भनेर बसेका अकबरले एकै सासमा सपना र त्यसपछि घटेका घट्ना सुनाए ।वीरबल मुसुमुसु हासे । उनले भने,“ महाराज ! मैले जानेसम्म यो सपनाको फल अनुसार यस्तो सपना देख्ने मानिसको दीर्घायु हुन्छ ।अन्य आफन्तजनले भन्दा धेरै कुराको अनुभव लिन सक्छ ।“
उनको कुरा सुनेर अकबर निकै खुशी भए र अङकमाल गर्दै इनाम समेत दिए ।