हेटौंडाः हेटौंडा अस्पतालमा आज निःशुल्क मुटुरोग शिविर हुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मुटुरोग शिविर हुने भएको हो । निःशुल्क मुटुरोग शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौंका मुटुरोग विशेषज्ञबाट सेवा दिइनेछ ।
शिविरमा ७ जना विशेषज्ञ र ४ प्राविधिक गरी ११ जनामार्फत् बिरामीलाई सेवा दिइनेछ । शिविरमा मुटुसम्बन्धी रोगबाहेकका इसीजी, इको कर्डियो, रगत जाँच, प्रेसर, सुगरसम्बन्धी रोगीहरुलाई निःशुल्क सेवा प्रदान गरिने हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
शिविरमा टिकट र औषधी पनि निःशुल्क गरिने उहाँले बताउनुभयो । ५ वटा मेशिनमार्फत् ईको सेवा प्रदान गरिनेछ । एकदिने शिविरमा ४ सय जना बिरामीलाई सेवा दिन सकिने र ४ सयभन्दा बढी बिरामी भएमा मुटुसम्बन्धी रोगका बिरामीलाई प्राथमिकतामा राखी अन्य समस्याका बिरामीलाई अस्पतालका स्वास्थ्यकर्मीमार्फत् सेवा दिने सापकोटाले जानकारी दिनुभयो ।