वार्षिक साधारणसभामा प्रतिवेदन पेश गर्नुहुँदै केन्द्रकी अध्यक्ष सुमित्रा काफ्ले ।

हेटौंडाः ग्रामीण असहाय बालबालिका पुनस्र्थापना केन्द्रको १४ औं वार्षिक साधारणसभा बुधबार भएको छ । हेटौंडा–११, सरस्वतीस्थित केन्द्रको सभाकक्षमा केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेको अध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष काफ्लेले केन्द्रको स्थापना र विकासक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

२०६४ सालमा स्थापित केन्द्रले २० जना बालिकालाई आवासीय सुविधासहित शिक्षा प्रदान गरिरहेको अध्यक्ष काफ्लेले जानकारी गराउनुभयो । केन्द्रले आफ्नै भवन निर्माण गरिरहेको छ । केन्द्रले जिल्लाका विभिन्न स्थानमा रहेका विपन्न एक हजार पाँच सय बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न छात्रवृत्ति तथा तिनका अभिभावकको आयआर्जनका लागि पनि सहयोग गरिरहेको छ ।

साधारणसभा उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य जुना दाहालले ग्रामीण असहाय बालबालिका पुनस्र्थापना केन्द्र वडाकै सम्पत्तिको रुपमा रहेको बताउनुभयो । बालिकालाई शिक्षाको अवसर दिलाउन केन्द्रले गर्दै आएको काममा वडाको तर्फबाट पनि सक्दो सहयोग गर्ने वडा सदस्य दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो । साधारणसभामा केन्द्रका कोषाध्यक्ष गुणराज पाठकले तीन करोड २४ लाख रुपैयाँको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।