हेटौंडाः शिक्षक नियुक्तिमा भइरहेको अनियमितताको विषयमा नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिले ध्यानाकर्षण भएको जनाएको छ । हेटौंडा उपमहानगरपालिका–१३ स्थित कालिका आधारभूत विद्यालय र हेटौंडा–१५ स्थित विश्वज्योति आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको प्रक्रियामा करार सूचिमा रहेका उम्मेदवारलाई नियुक्तिको अवसर नदिएकोप्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले शिक्षक नियुक्तिको विषयमा भइरहेको अनियमितताप्रति सम्बन्धित विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, हेटौंडा उपमहानगरपालिका, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरलाई ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विद्यालयमा प्रभाव समूहका नातावाद, कृपावाद तथा अन्य विभिन्न आकांक्षाले शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तरलाई कमजोर बनाउने यस्ता हर्क भएको भन्दै महासंघले खेद व्यक्त गरेको छ ।
शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्कृष्ठ ठहराएर करार सूचिमा सूचीकृत उम्मेद्वारहरुलाई प्राथमिकताका आधारमा नियुक्ति दिँदा विद्यालयको शैक्षिक गुणस्तर बढ्ने, शिक्षक छनोटको प्रक्रिया झन्झटिलो नहुने, विद्यालयलाई आर्थिक व्ययभार नपर्ने जीकिर गर्दै नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिका अध्यक्ष दीपक अधिकारी र सचिव अमित बञ्जाराको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी गरिएको छ ।
केहीदिन अघि हेटौंडा–१३ स्थित कालिका आधारभूत विद्यालयले करार सूचिमा रहेका उम्मेदवारको आवेदन परेपछि विज्ञापन नै रद्द गरेको छ भने हेटौंडा–१५ स्थित विश्वज्योति आधारभूत विद्यालयले करार सूचिमा रहेका उम्मेदवारलाई आवेदन नै दिनबाट रोकेको छ । कालिका आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको बुहारीलाई मिलेमतोमा नियुक्त गर्ने प्रयास भइरहेको छ भने विश्वज्योतिमा महिला शिक्षक धेरै भएको भन्दै करार सूचिमा रहेका महिला शिक्षकलाई आवेदन नै दिन रोकेको पाइएको छ ।