अभियानमा सहभागीहरु ।

हेटौंडाः हेटौंडा बजार क्षेत्रमा पार्किङ व्यवस्थापन प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको एक हप्ते ट्राफिक सचेतना अभियान सम्पन्न भएको छ । बिहीबारबाट सुरु भएको एक हप्ते अभियान मंगलबार सम्पन्न भएको हो । बजार क्षेत्रमा गाडी जाम हुने, जथाभावी गाडी पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भन्दै प्रहरीले एक हप्ते अभियान सुरु गरेको थियो ।

अभियानमा प्रहरीले हेटौंडा–४ स्थित स्कूलरोडमा पार्किङ क्षेत्र र नो पार्किङ क्षेत्रका प्लेटहरु राखेको थियो । स्कूलरोडमा वान साइड पार्किङ र वान साइड नो पार्किङ व्यवस्था कायम गराएको थियो । हेटौंडा–४ कै ओम भवनबाट पारिजातपथमा पनि वान साइड पार्किङ व्यवस्था गराएको थियो । यस्तै, हेटौंडा–२ स्थित मानसचोकबाट नगरपालिका रोडमा पनि वान साइड पार्किङ व्यवस्था लागू गराएको थियो ।

अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट हेटौंडा बजार क्षेत्रमा मात्र ३२ ट्राफिक प्रहरीहरु खटाइएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले बताउनुभयो । यस्तै बजार क्षेत्रबाहेक मकवानपुरका राक्सिराङ ट्राफिक पोष्ट, भीमफेदी ट्राफिक पोष्ट, हेटौंडा–१९ स्थित नेवारपानी र हेटौंडा–१५ रातमाटे ट्राफिक पोष्टहरुबाट पनि केही ट्राफिक प्रहरीहरु खटिएका थिए ।

अभियानमा मकवानपुरमा ४६ जना ट्राफिक प्रहरीहरु खटिएको प्रमुख पाण्डेले बताउनुभयो । अभियानका क्रममा ट्राफिक नियम पालना नगर्ने, जथाभावी पार्किङ गर्ने सवारी साधनका चालकहरुलाई सम्झाई बुझाई गरिएको थियो ।