
हेटौंडाः महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा भन्सार शूल्क र भ्याटलगायतका राजश्व छुट गर्नुका साथै सबैले खरिद गर्न सक्ने बनाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियु) मकवानपुरको महिला विभागले सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार बिहान मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत अनेरास्ववियुको महिला विभागले संघीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

अनेरास्ववियु मकवानपुरको महिला विभाग संयोजक स्वेच्छातारा दंगालले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । सेनेटरी प्याडमा भन्सार शूल्क र भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । विद्यार्थीहरु हेटौंडा क्याम्पसमा भेला भई र्यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेका हुन् ।
सेनेटरी प्याडमै सरकारले करोडौं रुपैयाँ भन्सार शूल्कवापत आम्दानी गरेको भन्दै केहीदिन यता सरकारको आलोचना भइरहेको छ । सरकारले सेनेटरी प्याडमा १० प्रतिशत भन्सार शूल्क र १३ प्रतिशत भ्याटवापत राजश्व असुली गर्दै आएको छ ।
र्यालीमा सहभागी विद्यार्थीले ‘ए सरकार प्याडमा त कर नलगाइदे’, ‘रातो कर खारेज गर’, ‘सरकार प्याड रहर होइन बाध्यता हो’, ‘रातो कर माफ गर’, ‘हाम्रो सास्ती सरकारलाई मस्ति’, ‘सके फ्रि नसके सबैले किन्न सक्ने बनाइदे’ जस्ता नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको थियो ।