गुगल तस्बिर ।

हेटौंडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले भदौ र असोज महिनामा मकवानपुर जिल्लाका ११ वटा विद्यालयमा १४ जना शिक्षक नियुक्तिका लागि अनुमति दिएको छ । विभिन्न कारणले रिक्त रहेका तथा दरबन्दी थप भएका विद्यालयलाई इकाईले शिक्षक नियुक्तिका लागि अनुमति दिएको हो ।

समन्वय इकाईले भदौ १ गते हेटौंडा–१३ स्थित महेन्द्र माविलाई निमावि तहको एकजना विज्ञान विषय शिक्षक नियुक्तिका लागि अनुमति दिएको छ । भदौ ९ गते राक्सिराङ गाउँपालिका–६ स्थित जनसेवा आधारभूत विद्यालयलाई प्रावि तहको एकजना शिक्षक, भदौ १० गते राक्सिराङ–४ स्थित कालिका माविलाई एकजना प्रावि तहको शिक्षक, भदौ ११ गते बकैया गाउँपालिका–२ स्थित ब्रम्ह आधारभूत विद्यालयमा एकजना प्रावि तहको शिक्षक नियुक्त गर्न अनुमति दिएको छ ।

यस्तै भदौ १६ गते मनहरी गाउँपालिका–४ स्थित प्रजा प्राविलाई एकजना प्रावि तहको शिक्षक, भीमफेदी–९ स्थित लेकाली बसिफाँट माविलाई निमावि तहको एकजना शिक्षक, भदौ २० गते हेटौंडा–१९ स्थित भैरुङ प्राविलाई प्रावि तहको एकजना शिक्षक, भदौ २९ गते हेटौंडा–१३ स्थित कालिका आधारभूत विद्यालयलाई प्रावि तहको एकजना शिक्षक र भदौ ३१ गते हेटौंडा–१५ स्थित विश्वज्योति आधारभूत विद्यालयलाई प्रावि तहको तीनजना शिक्षक नियुक्त गर्न समन्वय इकाईले अनुमति दिएको छ । यस्तै असोज ६ गते हेटौंडा–१९ स्थित अरनिको माविलाई निमावि तहमा एकजना गणित विषय शिक्षक र एकजना प्रावि तहको शिक्षक नियुक्त गर्न अनुमति दिएको छ ।

कार्यरत शिक्षक सेवानिवृत्त हुँदा, स्वेच्छिक अवकास लिँदा, सरुवा भएर अन्यत्र विद्यालय जाँदा रिक्त भएका पदमा शिक्षा विकास तथा समन्वय इकाईको अनुमतिमा विद्यालयले शिक्षक नियुक्त गर्न पाउनेछ । यस्तै दरबन्दी मिलानको क्रममा पनि केही विद्यालयमा दरबन्दी थप भई शिक्षक नियुक्तिका लागि समन्वय इकाईले अनुमति दिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेम खरेलले जानकारी दिनुभएको छ ।

कैलाश, ईन्द्रसरोवर र कैलाशको समन्वय छैन
हेटौंडाः शिक्षक नियुक्तिको विषयमा मकवानपुरका तीनवटा पालिकाले शिक्षा विकास तथा समन्वय इकाईसँग समन्वय गर्ने गरेको छैन । शिक्षक नियुक्ति, सरुवा, प्रधानाध्यापक नियुक्ति लगायतका विषयमा समन्वय इकाईसँग समन्वय गर्नुपर्ने भए पनि मकवानपुरका कैलाश, ईन्द्रसरोवर र बागमती गाउँपालिकाले समन्वय गर्ने नगरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेम खरेलले जानकारी दिनुभएको छ ।