हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले १४ औं महाधिवेशनअन्तर्गत् गाउँ–नगरपालिका अधिवेशनको तयारी सुरु गरेको छ । भदौ २० गते वडा अधिवेशन गरेको नेपाली कांग्रेस मकवानपुरले वडा अधिवेशनमा मकवानपुरको ८९ वटा वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको थियो । यस्तै १३ वडामा मात्र मतदान भएको थियो । वडा अधिवेशन सकिएलगत्तै नेपाली कांग्रेसको गाउँ–नगरपालिका अधिवेशन सरेको थियो ।
मकवानपुरको १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन हुने भएको हो । मकवानपुरको अधिकांश स्थानीय तहहरुमा पालिकाको सभापतिमा आ–आफ्नो दाबीसमेत प्रस्तुत गरिएको छ । मकवानपुरको बकैया गाउँपालिकाका नेपाली कांग्रेसका सभापति भूमिनन्दन गौतमले पालिकामा केहीले आफ्नो दाबी प्रस्तुत गर्नुभएको जानकारी दिनुभयो । उहाँले पालिका सभापतिको जिम्मेवारीमा दाबी प्रस्तुत गर्न सबैले पाउने बताउनुभएको छ ।
यसअघि बकैया गाउँपालिकाको एक वडामा मात्र वडा अधिवेशनमा मतदान भएको थियो । वडा अधिवेशनमा बाँकी सबै नेतृत्व सर्वसम्मत सहमतिमै भएको भन्दै गौतमले भन्नुभयो, ‘पालिका सभापति सहमतिमा बनाउने प्रत्यत्नमा छौं ।’ सर्वसम्मत नेतृत्व चयन गर्न एक चरणको छलफल सुरु भइसकेको उहाँको भनाई छ ।
सबैले नेतृत्वमा आउने चाहना गर्नु स्वभाविक भएको भन्दै आफू पनि कांग्रेस बकैया गाउँपालिका सभापतिमा दोहोरिने बताउनुभएको छ । यसअघि एक कार्यकाल गाउँपालिकाको सभापति बने पनि कांग्रेसलाई पालिकामा अघि बढाउन त्यो पर्याप्त नभएको गौतमले बताउनुभयो । नेपाली कांग्रेसको अर्काे कार्यकालको जिम्मेवारी लिन तयार रहेको भन्दै सहमतिमा सभापति चयन हुने उहाँले बताउनुभयो । बकैया गाउँपालिकामा नेपाली कांग्रेसलाई बलियो पार्टीको रुपमा स्थापित गर्न लागिएको जिकिर गर्दै गौतमले भन्नुभयो, ‘कांग्रेसले नै बकैया गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’
स्थानीय तहको निर्वाचनमा कांग्रेसको गाउँपालिका अध्यक्ष भएको तथा जनप्रतिनिहरुले पनि स्थानीय तहको विकासमा लागि परेको कांग्रेस बकैया सभापति गौतमको भनाई छ । उहाँले पालिकाको कार्यसमिति नै सर्वसम्मत आउने दाबी गर्नुभयो ।
यसैगरी मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिकामा पनि यसअघि नै ३ जनाले थाहा नगरको सभापतिमा दाबी गर्ने बताइएको थियो । थाहा नगरमा वर्तमान कांग्रेस सभापति योगेन्द्रमान श्रेष्ठ पनि सभापतिमा दोहोरिनसक्ने संकेत गर्नुभएको छ । यस्तै थाहा नगरका कांग्रेस उपसभापति भरत गोपाली, प्रमोद जोशी, तरुण दलका अध्यक्ष नवराज लामाले सभापतिमा दाबी गर्नुभएको छ ।
मकवानपुरको सबैभन्दा बढी चर्चामा रहने हेटौंडा उपमहानगरपालिकामा समेत ३ जनाले नगर सभापतिमा आफ्नो दाबी गरिसकेका छन् । कांग्रेस हेटौंडा–५ का वडा अध्यक्षसमेत रहेका राजेश बानियाँ, उत्सव इटेनीले आफ्नो दाबी घोषणा गर्नुभएको छ । यस्तै उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष पदका प्रत्यासीसमेत रहेका महेन्द्र राउत पनि कांग्रेस हेटौंडा नगरको सभापतिमा आउने चर्चा रहेको छ ।
मकवानपुरको १० गाउँ-नगरपालिकाको नेतृत्व सर्वसम्मत चयन गर्ने कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले बताउनुभएको छ । मकवापनुरमा यसअघि भएको वडा अधिवेशनबाटै कांग्रेसको कुनै गुट-उपगुट नभएको प्रमाणित भएको भन्दै सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने उहाँले बताउनुभयो । सभापति बानियाँले स्थानीय तहको सभापतिमा दाबेदार बन्न पाइने भन्दै सकभर सर्वसम्मत गर्न खोजेको बताउनुभयो ।
वडा अधिवेशनमा अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन गरिसकेकाले सबैलाई मिलाएर लैजाने तयारी भइरहेको उहाँको भनाई छ । सभापति बानियाँले समय आएपछि प्रतिस्पर्धा हुँदा पार्टीका साथीहरुबीचमा जान पाइने र आफ्नो भ्यालूसमेत थाहा पाउने भन्दै नेतृत्वलाई खारिने अवसरसमेत भएको बताउनुभयो ।
बानियाँका अनुसार बजारमा प्रतिपस्पर्धामा गएकामध्ये सहमति जुटाउन नसके मतदान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सकभर सर्वसम्मत हुन्छ, नभए निर्वाचनमा जान्छ । निर्वाचनबाट निर्वाचित भएर आउनेलाई सबैले स्वीकार गर्नुपर्छ ।’ नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बामगती प्रदेशसभाको संसदीय दलका नेता बानियाँले वडा अधिवेशन, गाउँ–नगर अधिवेशन, क्षेत्रीय, प्रदेश अधिवेशनसम्म नेतृत्व सर्वसम्मत चयन हुने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत् संशोधित कार्यतालिकाअनुसार यही असोज ९ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९, १०, ११, १२ र १३ गते केन्द्रीय महाधिवेशन काठमाडौंमा हुनेछ ।