हेटौंडाः हेटौंडाको नागस्वती भेट्रान्सले बाराको सिमरामा जारीे हुलास कप ८ ए साइड भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कोशेली युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा नागस्वती भेट्रान्सले पश्चिम चितवन भेट्रान्सलाई ट्राइब्रेकरमा पराजित गरेको हो ।
आइतबार भएको खेलमा नागस्वतीले पश्चिम चितवनलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्यो । निर्धारित ५० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । सोमबार नागस्वतीले दोस्रो चरणको खेलमा हेटौंडाकै फ्रेन्डसिप भेट्रानसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार नै हेटौंडाको अर्को भेट्रान क्लब एफसी कालभैरबले वीरगञ्ज सिटी भेट्रानसँग प्रतिस्पर्धा गर्दैछ ।
५० हजार रुपैयाँ राशिको उपाधि रहेको प्रतियोगितामा हेटौंडाका ३ क्लबसहित कुल २० क्लबको सहभागिता रहेको छ । कुल १९ खेल हुने प्रतियोगिताको उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको फाइनल असोज ९ गते हुने आयोजकले जानकारी दिएको छ ।