हेटौंडाः सातौं संविधान दिवसको अवसरमा आइतबार हेटौंडाको विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । राजनीतिक दल र तिनका भातृ संगठनदेखि विभिन्न संघ, संस्थाले संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेका छन् ।
विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनपछि जनताका प्रतिनिधिले निर्माण गरेको संविधान कार्यान्वयनमा राजनीतिक दलहरुले इमानदारिता देखाउन नसक्दा संविधानको मर्मअनुसार मुलुक अग्रसर हुन नसकेको भन्दै जानकारहरुले असन्तुष्टि जनाउँदै गर्दा नागरिकमा निराशा कायम छ । जसका कारण नागरिकस्तरबाट भने संविधान दिवसको अवसरमा दीप प्रज्वलन लगायत रचनात्मक कार्य हुन सकेको छैन ।
संविधान दिवसको अवसरमा आइतबार नेकपा एकीकृत समाजवादीले हेटौंडाको शितलमहल चोकमा दीप प्रज्वलन गरेको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले हेटौंडा–८, कमाने र हेटौंडा–९, लामसुरेमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलनमा राजनीतिक दलका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।
यसैगरी संविधान दिवसकै अवसरमा हेटौंडा–२, मानसचोकस्थित गणपति बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि मानसचोकमा दीप प्रज्वलन गरेको छ । सहकारीका पदाधिकारी तथा सेयर सदस्य सहभागी भई संविधान दिवसको अवसरमा मानसचोकमा दीप प्रज्वलन गरेको सहकारीका सञ्चालक समिति सदस्य कमल मैनालीले जानकारी दिनुभएको छ ।