हेटौंडाः बस्तीपुर जेसीज हाँडीखोलाको अर्धबार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार जेसीज सचिवालयमा अर्धबार्षिक साधारणसभा भएको हो । साधारणसभामा बर्ष सन् २०२१ मा भएका गतिविधिको बिषयमा क्षेत्रगत रुपमा प्रतिवेदन पेश भएको थियो ।
साधारणसभाले कार्यकारिणी उपाध्यक्ष आकाश पाठक र तेजप्रसाद उप्रेती, महासचिव प्रेम गोङ्बा, कोषाध्यक्ष शिवराज उप्रेती तथा उपाध्यक्षहरु महेन्द्र राना मगर, श्रीकृष्ण ढकाल, शङ्कर नेपाल र रामचन्द्र दाहालको पेश गरेको प्रतिवेदन पास गरेको छ । बस्तीपुर जेसीजका संस्थापक अध्यक्ष गणेशप्रसाद भेटवालको प्रमुख आतिथ्यतामा भएको अर्धबार्षिक साधारणसभामा पूर्व अध्यक्ष विनोदकुमार बर्तौला, प्रमुख अध्यक्ष सल्लाहकार विदुरविक्रम थापा, सल्लाहकार राजकुमार भेटवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बस्तीपुर जेसीज हाँडीखोलाका बर्ष सन् २०२१ का अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा साधारणसभा भएको हो ।
पौडीमा उप्रेती प्रथम
बस्तीपुर जेसीज हाँडीखोलाको आयोजनामा भएको जेसीज सदस्यबीचको पौडी प्रतियोगितामा गोकुल उप्रेती प्रथम भएका छन् । अन्य १५ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । प्रतियोगितामा गणेशदर्पण अधिकारी द्वितीय, श्रीराम खड्का तृतीय र केशव ढकाल सान्त्वना भए । विजयीहरुले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गरे ।
सन्तोष बर्तौलाको संयोजकत्व एवम् बस्तीपुर जेसीजका प्रमुख अध्यक्ष सल्लाहकार विदुरविक्रम थापाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १६ जनाले सहभागिता जनाएका थिए । अर्धबार्षिक साधारणसभाको सन्दर्भमा जेसीज सदस्यको बीचमा भ्रातृत्वको सम्बन्ध विकासका लागि आन्तरिक पौडी प्रतियोगिताको आयोजना गरिएको बस्तीपुर जेसीजका अध्यक्ष राजेश भेटवालले जानकारी दिए ।