हेटौंडाः शनिबार हेटौंडामा ५ किमी दौड सम्पन्न भएको छ । संविधान दिवस २०७८ को अवसरमा भएको ५ किमी दौड प्रतियोगितामा हेटौंडा–१३ पदमपोखरीका महेश मोक्तान प्रथम भएका छन् ।

संविधान दिवस, २०७८ मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा भएको दौड प्रतियोगितामा विजयी भएका मोक्तानले ५ किमी दुरी १६ मिनेट २१ सेकेण्ड ८८ मिलिसेकेण्डमा पार गरेका थिए । यस्तै प्रतियोगिताको द्वितीय र तृतीय क्रमशः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्याम कुमार राई भएका छन् । साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्डमा पार गरेका थिए भने राईले १७ मिनेट १६ सेकेण्ड ५३ मिलिसेकेण्डमा दुरी पार गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय भएकाहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । दौडमा ५० जना धावकहरुको सहभागिता रहेको जिल्ला एथलेटिक्स संघ मकवानपुरका सचिव राजाराम पोखरेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताहरुलाई आइतबार मुख्यमन्त्री कार्यालय परिसरमा संविधान दिवसको अवसरमा हुने मुल कार्यक्रममा पुरस्कार प्रदान गरिने जनाइएको छ ।