खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका माधवी बोस र अभिषेक बोस ।

हेटौंडाः संविधान दिवस २०७८ को अवसरमा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधी माधवी बोस र अभिषेक बोसको जाडीले जितेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट सुरु भएको व्याडमिन्टन प्रतियोगितामा शनिबार फाइनल खेलमा माधवी र अभिषेकले उपाधीमाथि जीत हात पारेका हुन् ।

२१ जोडीको सहभागिता रहेको प्रतियोगितामा माधवी मात्र महिला जोडीको रुपमा सहभागि भएकी थिइन् । माधवी र उनका भाई अभिषेकले फाइनल खेलमा बिरु गुरुङ र रमेश रेग्मीको जोडीलाई पराजित गरेका हुन् । विजेता जोडीले ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने उपविजेता जोडीले २५ हजार रुपैयाँमा चित्त बुझाएका छन् । यसैगरी प्रतियोगितामा शिवहरी कुँवर र गणेश लामा तथा हरि बहादुर तामाङ र चेत बहादुर विकको जोडी तृतीय भएका छन् । उनीहरुले साढे ७ हजारका दरले कुल १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

संविधान दिवस २०७८ मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला व्याडमिन्टन संघको संयोजनमा प्रतियोगिता भएको हो । हेटौंडा–११ स्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा प्रतियोगिताआयोजना गरिएको थियो । प्रतियोगिताको विजेताहरुलाई आइतबार मुख्यमन्त्री कार्यालय परिसरमा संविधान दिवसको अवसरमा हुने मुल कार्यक्रममा पुरस्कार प्रदान गरिने जनाइएको छ ।