गुगल तस्बिर

हेटौंडाः नेपाली हिन्दू महिलाहरुको विशेष चाड तीजअन्तर्गत् शनिबार ऋषिपञ्चमी मनाइएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीको अवसरमा पवित्र नदी तथा तलाउमा स्नानसहित सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी मनाइएको हो ।

ऋषिपञ्चमीको दिन बिहानै नित्यकर्म सकेर महिलाहरुले नदी, खोला, ताल, पोखरी तथा धाराहरुमा गई विधिपूर्वक स्नान गरेका छन् । दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो तथा खरानी लगाई स्नान गर्ने परम्परा रहेको छ ।

रजस्वलाको समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास पाइन्छ । विधिपूर्वक स्नान गरी सप्तऋषिहरु अरुन्धती, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ ।

पञ्चमी तिथिका दिन सप्तऋषिको पूजा गर्ने भएका कारण तीजको अन्तिम दिनलाई ऋषिपञ्चमी भनिन्नछ । ऋषिपञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाएर एक छाक छाड्नुपर्ने व्रतविधि रहेको छ ।