मानव जीवनका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हुन् । तर कोभिड–१९ का कारण यतिबेला यी दुई तत्व एक अर्काका अन्तरबिरोधी भएका छन् । शिक्षालाई निरन्तरता दिँदा स्वास्थ्य बिग्रने र स्वास्थ्यका लागि घरमै बस्दा शिक्षा बिग्रने परिस्थिति बनेको छ । महामारीका कारण विश्वव्यापी बालबालिकाको अध्ययन प्रभावित भएको छ । नेपाल त झन् बढी प्रभावित भयो । केही शहरकेन्द्रित विद्यालयहरुले वैकल्पिक अध्ययन विधिको प्रयोग गरेका छन्, तर प्रभावकारी हुन सकेको छैन । ग्रामीण क्षेत्रमा त अनलाइन कक्षाको सम्भावना नै नभएपछि विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौल बनेको छ । बालबालिकाको पढ्न पाउने अधिकार सुरक्षित गर्न कोरोनाको प्रकोपको अवस्थालाई ध्यान दिँदै कक्षाहरु सञ्चालन गर्न भौतिकरुपमा उपस्थित भएरै अध्ययनको तयारी भएको छ ।
मकवानपुर जिल्लामा स्थानीय तहको स्वीकृतिमा विद्यालयमा पठनपाठन सुचारु गर्नसक्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयपछि विद्यालय सञ्चालनको तयारी सुरु भएको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा भन्दा हेटौंडामा जोखिम अझै बढी नै छ । तर कक्षा सुचारु गर्नुपर्ने अवस्थामा विद्यालय तथा अभिभावकहरु पुगेका छन् । लामो समयदेखि बालबालिकाको शैक्षिक गतिविधि रोकिँदा उनीहरुको सिकाई क्षमतामा कमी आउने तथा अभिरुचि नै कम हुँदै गएको देखिन्छ । जसले गर्दा विद्यालय सञ्चालन गर्नुपर्ने दवाव महसुस अभिभावकहरुले गरेका छन् । तर शिक्षको मात्र चासो लिँदा स्वास्थ्य अधिकार हनन् हुने त हैन भन्नेतर्फबाट पनि सोच्न आवश्यक छ । विद्यालयका शिक्षक–कर्मचारी, शिक्षक अभिभावक संघ, व्यवस्थापन समितिलगायतको बैठकबाट कार्यढाँचा बनाएरमात्र भौतिक उपस्थितिमा पठनपाठन गराउनु पर्ने हुन्छ ।
जोखिमको विश्लेषण गर्दै हेटौंडा उपमहानगरपालिकाले मातहतका विद्यालय सञ्चालकदेखि प्रधानाध्यापकहरुसँगको परामर्शपछि कक्षा सञ्चालन गर्ने निधो गरेको छ । तर विद्यालय सञ्चालन गर्नु पहिला सबै विद्यालयहरुले यही भदौ २७ गतेसम्म सञ्चालनको कार्यढाँचा पेश गर्नु पर्नेछ । विद्यालय सञ्चालन गर्नका लागि बनाइने कार्यढाँचाका आधारमा विद्यालय सञ्चालन हुने वा नहुने निर्धारण गर्नेछ । सरकारले तोकेको मापदण्डअनुसार विद्यार्थीको सिट प्लानिङ, कक्षाकोठाको अवस्थिति, सुरक्षा मापदण्डअनुसारको वातावरणको अवस्थाले कक्षा सञ्चालन गर्ने वा नगर्ने निर्धारण हुनु आवश्यक छ । धेरै भिड गर्नुभन्दा सिफ्टअनुसार कक्षा र बार अनुसार सेक्सन सञ्चालन गर्नु आवश्यक हुनसक्छ । त्यो भएमात्र भिड कम हुँदा जोखिम कम हुनसक्छ ।
विद्यालय सञ्चालन सुरु गर्नु ठूलो कुरा छैन, तर स्वास्थ्य जोखिम न्यूनीकरण हुन सक्छ कि सक्दैन भन्ने पक्षलाई नियमनकारी निकायबाट अवलोकन हुनुपर्दछ । पेश गरेको कार्यढाँचालाई कागजीरुपमा मात्र विश्लेषण नगरी सम्बन्धित विद्यालयको निरीक्षण गरी ढाँचामा पेश गरिएअनुसारको व्यवस्थापकीय पक्ष भए नभएको अवलोकन गरिनु आवश्यक छ । यस कार्यमा अभिभावकको पनि भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना बालबालिकाहरु अध्ययन गर्ने संस्थाको स्वास्थ्य वातावरण अवलोकन गर्नेदेखि आवश्यक सुझाव दिने काममा अभिभावकको सक्रियता हुनुपर्दछ । स्वीकृति दिनेमात्र हैन, नियमनकारी निकायबाट अवलोकन गर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई नियमानुसार गर्ने काम निरन्तर हुनुपर्दछ । पेश गरिएको ढाँचा वास्तविकरुपमा कार्यान्वयन भएमात्र विद्यालय कोरोनाको केन्द्र हुनबाट बच्नसक्छ, नत्र परिस्थिति फरक पर्ने खतरा यथावत छ ।