मकवानपुरमा आत्महत्याको घटना बढ्दै गएको छ । मकवानपुरमा चालु आर्थिक बर्षको साउन महिनामा मात्र १२ जनाले आत्महत्या गरेका छन् । साउन महिनामा भएको आत्महत्याका घटनामा सबैजना झुण्डिएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका अधिकारीले जानकारी दिएको छ । आत्महत्या गर्नेमा बालबालिका पनि छन् । साउन महिनामा आत्महत्या गरेका १२ जनामध्ये ३ जना बालबालिका रहेका छन् । यस्तै ८ जना पुरुष र १ जना महिलाले आत्महत्या गरेको छन् । समाजमा आत्महत्या बढ्दै जानुका कारण, आत्महत्या गर्न खोज्ने व्यक्तिको लक्षण, यसको रोकथामलगायत विषयमा समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाइबाले मकवानपुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक बासु ढुंगेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः पछिल्लो समय मकवानपुरमा आत्महत्याको संख्या बढ्दै गएको छ । आत्महत्याका घटनालाई कसरी बुझ्नुुभएको छ ?
ढुंगेलः अहिले समाज परिवर्तनसँगै मानिसहरुमा सूचना प्रविधिको प्रभाव परेको छ । मानिसहरु स्वास्थ्यमा ध्यान नदिने, मानसिकरुपमा समस्यामा देखिने, आफूले सोचेको काममा सफलता नपाउनु, पढाईमा सफलता नहुनु, व्यापारमा घाटा हुनु, घरेलु हिंसाका घटनाले मानिसलाई आत्महत्या गर्न प्रेरित गरिरहेको छ ।
समाजः आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष धेरै देखिएको छ नि ?
ढुंगेलः समाजमा महिलाको तुलनामा पुरुषले फरक र ठूला–ठूला जिम्मेवारी लिएर काम गरेका हुन्छन् । आर्थिक क्षेत्र, राजनीतिक, सामाजिक र बाहिरी समाजमा पुरुषहरु घुलमिल हुन्छन् । पुरुषले बाहिरी समाजमा बढी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छन् । सफलताका लागि चुनौती भोग्नुपर्ने हुन्छ । यी क्षेत्रमा आफूले सोचेजस्तो सफलता नपाएमा पुरुषहरु मानसिक तनाव लिने गर्दछन् । जाँडरक्सी सेवन गर्ने, बढी मानसिक तनाव लिनाले आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढि भएको हुन सक्छ । घरेलु हिंसा भएमा, आफूले सोचेजस्तो परिस्थिति नभएमा, सामूहिक बलात्कारजस्ता घटना भएमा महिलाले आत्महत्या गर्न सक्छन् ।
समाजः अहिले आत्महत्या गर्नेमा बालबालिकाहरु पनि रहेका छन् । किन बालबालिका आत्महत्या गर्न अग्रसर भइरहेका छन् त ?
ढुंगेलः अहिले बालबालिकाहरु अभिभावकहरुको दायराभन्दा बाहिर छन् । कोभिड–१९ को महामारीका कारण लागू गरिएको कडाइले बालबालिकाको पठनपाठन, मनोरञ्जनात्मक क्रियाकलापलगायतमा अवरोध आउनुले उनीहरूको साथी, सहपाठी, शिक्षक तथा परिवारसँगको सम्पर्क पनि टाढिएको छ । बालबालिकहरुले मोबाइल तथा सामाजिक सञ्जालमा रहेका नकारात्मक पक्षहरु प्रयोग गर्ने गरेका छन् । बालबालिकाहरु खेलकुद, स्वास्थ्य र मनोरञ्जनमा ध्यान नदिई मोबाइलमा मात्र व्यस्त हुनुले उनीहरुमा विभिन्न समस्या उत्पन्न भइरहेको छ । मोबाइलबिना एकछिन बस्न नसक्ने बालबालिकाको संख्या बढिरहेको छ । अभिभावकहरुले उनीहरुलाई मोेबाइल दिन नसकेमा मानसिक तनाव लिने गर्छन् । यो उमेरमा बालबालिकाहरुले जिद्धि गर्नेे, मनमा लागेको कुरा पूरा भइहाल्नुपर्ने र चाहिने हुन्छन् । यदि पूरा भएन भने उनीहरुले पनि आत्महत्या गर्न सक्छन् ।
समाजः कुनै व्यक्तिले आत्महत्या गर्दैछन् भनेर कसरी थाहा पाउने ?
ढुंगेलः कुनै व्यक्तिमा मानसिक समस्या देखा परेमा, डराउने, आत्तिने, कुनै विषयमा तनाव झेलिरहेमा त्यस व्यक्तिले आत्महत्या गर्न सक्छन् ।
समाजः आत्महत्या रोकथाम गर्नचाहिँ के–के गर्न सकिन्छ ?
ढुंगेलः यदि समाजका आत्महत्या गर्ने लक्षण देखाएको, मानसिक रोगीहरु छन् भने नजिकको अस्पतालमा सम्पर्क गर्नुपर्दछ । सामाजिक सञ्जालको प्रयोग गर्दा सकारात्मक कुराहरुमा जोड दिने, मनोपरामर्श दिने, आत्मविश्वास वृद्धि गर्ने, मनमा अनावश्यक कुराहरु नसोच्ने, सकारात्मक कुराहरुमात्र मनमा लिने, दुःख पर्दा नआत्तिने, योग गर्ने बानीको विकास गर्नुपर्छ । बालबालिकाहरुले के–के क्रियाकलापहरु गरिहेका छन् भनेर अभिभावकले ध्यान दिनुपर्दछ ।