गोविन्द पौडेलको कृति विमोचन गरिँदै ।

हेटौंडाः गाईजात्राको अवसरमा सोमबार गोविन्द पौडेलको हाँस्यव्यङ्ग्य निबन्ध कृति गिलासवाद विमोचन भएको छ । सानैदेखि हाँस्यव्यङ्ग्य क्षेत्रमा कलम चलाउँदै आएका पौडेलको पहिलो कृतिका रुपमा गिलासवाद विमोचन गरिएको हो ।

सिस्नुपानी नेपालका उपाध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा विमोचन कार्यक्रम भएको थियो । कार्यक्रममा सिस्नुपानी नेपालका सल्लाहकार आरसी रिजालको प्रमुख आतिथ्य थियो । पौडेलको विमोचित कृति गिलासवादमाथि परिचर्चा तथा टिप्पणी गर्नुहुँदै साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले समाजको गलत प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको बताउनुभयो । आफूलाई पात्र बनाई व्यङ्ग्य शैलीमा समाजका समस्या तथा विकृतिलाई उजागर गरिँदै कृति लेख्दा उत्कृष्ट हुने निखिलले बताउनुभयो । सामाजिक, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका विकृति र विसंगतिमाथि बेजोडरुपमा प्रहार गरी समाजको उजागर गर्ने कृति भएकाले गिलासवाद एउटा पठनीय हास्यव्यङ्ग्य संग्रह रहेको उहाँले बताउनुभयो ।

गिलासवादका लेखक पौडेलले सानैदेखि चञ्चले स्वभावका कारण साथै दशैंतिहारको अवसरमा नाटकहरुमा अभिनय गर्ने गरेकाले हास्यव्यङ्ग्यप्रति रुचि बढ्दै गएको बताउनुभयो । निबन्ध संग्रहमा १७ वटा निबन्ध समेटिएको छ । पेशाले शिक्षक पौडेलले निषेधाज्ञाको समय सदुपयोग गर्दै निबन्ध संग्रह तयार पारिएको बताउनुभएको छ ।

कार्यक्रममा साहित्यकारहरु रामचन्द्र आचार्य फुर्सती, तुलसी घिमिरे, मुक्तिगोविन्द वैद्य, देवराज खरेल, रमेशमोहन अधिकारी, माधव पोखरेल, सुवास खनाल, अनिता न्यौपाने, सीएम रिमाललगायतको उपस्थिति रहेको थियो ।