मोटरसाइकल चोरी सांकेतिक तस्बिर

हेटौंडाः मकवानपुर जिल्लामा एक महिनाको अवधिमा १७ वटा मोटरसाइकल हराएको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्र १७ वटा मोटरसाइकल हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको हो । हराएको भनि दर्ता भएकामध्ये २ वटा मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ ।

जिल्लामा यसअघि पनि मोटरसाइकलहरु व्यापक चोरी हुँदै आएको छ । गतवर्ष २०७७-०७८ मा मात्रै जिल्लामा १ सय २९ वटा मोटरसाइकल हराएको उजुरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको छ । हराएकामध्ये प्रहरीले खोजतलास गरेर १३ वटामात्र मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको उजुरी शाखाका प्रहरी जवान प्रज्वालक्ष्मी खत्रीले जानकारी दिनुभयो । फेला परेको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार मोटरसाइकलहरु जिल्लाभित्र र अन्तर जिल्लामा चोरी हुने गरेको छ । अन्तर जिल्लाभित्र चोरी भएमा फेला पर्न सजिलोे हुने र अन्तर जिल्लामा पुगेमा फेला पार्न केही समय बढी लाग्ने गर्दछ ।