हेटौंडाः मकवानपुर प्रहरीले मास्क नलगाई हिँड्नेहरुलाई जरिवाना गर्दै आएको छ । प्रहरीले दुई सातादेखि मास्क नलगाई हिँड्नेहरुलाई एक सय रुपैयाँ जरिवाना गर्दै आएको हो । मकवानपुरमा निषेधाज्ञा भाद्र १० गते राति १२ बजेसम्म कायम छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षकसहित खटिएको प्रहरी टोलीले मास्क नलगाई हिँड्ने ४ जनालाई एक–एक सय रुपैयाँ जरिवाना गरेको छ । उनीहरुलाई प्रहरीले निःशुल्क मास्क वितरण गर्नुका साथै सम्झाईबुझाई गरेर छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयोे । उहाँका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरीले ६५ थान मास्क निःशुल्क वितरण गरेको छ ।
जिल्लामा अहिले निषेधाज्ञा जारी छ । जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न तथा भीडभाड हुने कार्य नगर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गर्दै आएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जारी गर्नुभएको आदेशको पहिलो एक नम्बर बुँदा नै जिल्लामा पालना गराउन सकिएको छैन ।
हेटौंडा बजार क्षेत्रमा समेत आदेश पालना गराउन प्रशासनले कडाई गर्न सकेको छैन । दिनहुँ प्रशासनकै अघि आन्दोलन, भिडभाड गरेर र्याली गर्दा र मास्कबिना हुल बाँधेर हिँड्दासमेत प्रहरी प्रशासन मौन बसेको छ । ३ सय बढी मान्छेहरु भेला गरेर पार्टी प्रवेश गर्ने कार्यक्रमलाई प्रशासनले नदेखेजस्तो गर्दै प्रहरीले नै सुरक्षा दिइरहेको छ । जहाँ मास्क अनिवार्य भनिए पनि मास्क लगाइएको हुन्न ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जारी गर्नुभएको एक नम्बर बुँदामा अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, मर्निङ वाक, इभिनिङ वाक नगर्ने, निस्कनुपर्दा अनिवार्य मास्क लगाउनुपर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, भिडभाड नगर्ने, नगराउने लेखिएको छ । तर अहिले आदेशको पहिलो बुँदा नै प्रशासनले पालना गराउन सकेको देखिँदैन ।