हेटौंडाः साहित्य संगम मकवानपुरको अधिवेशन आगामी असोज ९ गते हुने भएको छ । सोमबार सल्लाहकारसहितको कार्यसमिति बैठकले अधिवेशन गर्ने निर्णय गरेको साहित्य संगम मकवानपुरका सचिव डीबी बर्तौलाले जानकारी दिनुभएको छ । सोही अवसरमा सन्ध्या दिवस पनि मनाएको छ ।

गत साउन २ गतेदेखि भदौ २ गतेसम्म पुराना सदस्यको नवीकरण तथा नयाँ सदस्य थप्ने समयावधी दिएको सचिव बर्तौलाले बताउनुभयो । १ सय २० जना पुराना सदस्यको सदस्यता नवीकरण र १ सय १५ जना नयाँ सदस्य संस्थामा आवद्ध भएको उहाँले जानकारी दिनुभयो ।

१ सय १५ जना नयाँ सदस्य थपिएसँगै संगमको सदस्य २ सय ३५ जना पुगेको छ । अहिले संस्थाको इतिहासमा नै सबैभन्दा बढी सदस्य भएको सचिव बर्तौलाले बताउनुभयो । बर्तौलाका अनुसार बैठकको निर्णयले साहित्य संगम मकवानपुरको मुखपत्र ‘सौरभ’समेत अधिवेशनका अवसरमा प्रकाशन हुने बताउनुभयो । साहित्य संगमका संस्थापक तथा सल्लाहकार तुलसी घिमिरेले नयाँ जोस र जाँगरका साथ नयाँ पुस्ताको आगमन भएको बताउनुभयो । यसले पक्कै पनि साहित्य जगतमा नयाँ पुस्ताले समाज परिवर्तन तथा विकासमा सहयोग पुग्ने घिमिरेले बताउनुभयो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले भर्जुअल माध्यमबाट भएपनि रचनात्मक कार्यहरु गर्न सफल भएको बताउनुभयो । उत्साहजनक सदस्यहरुको आगमनले तोकिएको समयवधिमा नै अधिवेशन हुने र साहित्यको विकासमा उल्लेख्य कार्य भएको निखिलले दावी गर्नुभयो । साहित्य संगमप्रति सकारात्मक धारणाका साथ केही सिक्ने उद्देश्यले नयाँ सदस्य वृद्धिका साथै पुराना सदस्यको नवीकरणले भावी दिनमा समेत संगमको गरिमा उच्च बनाउन सफल हुने अध्यक्ष निखिलले बताउनुभयो । साहित्य संगम सिक्ने पाठशाला भएकाले नयाँ पुस्ताका लागि सिकाउन सधैं संगमको ढोका खुला भएको उहाँले जानकारी दिनुभयो ।