गुगल तस्बिर ।

हेटौंडाः मनहरी गाउँपालिका–४ मसिने चिसापानीस्थित चेपाङ प्राविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः बिष्णुबहादुर चेपाङ चयन हुनुभएको छ । चेपाङ मनहरी गाउँपालिका–४ का निर्वाचित वडासदस्य पनि हुनुहुन्छ । शुक्रबार विद्यालयमा भएको अभिभावक भेलाले चेपाङलाई अध्यक्षमा चयन गरेको हो । समितिको सदस्यहरुमा मंगलबहादुर मोक्तान, भगवती प्रजा, तुलसी थोकर, नीलमरानी खत्री प्रजा, बुद्धराज प्रजा चयन भएका छन् ।

अभिभावक भेला मनहरी गाउँपालिकाका स्रोतशिक्षक पूर्णभद्र भुषालको प्रमुख आतिथ्यमा भएको हो । प्रमुख अतिथि भुषालले कोभिड महामारीमा बालबालिकालाई वैकल्पिक बिधि अपनाएर सिकाई सहजीकरण गर्नुपर्ने बताउनुहुँदै अभिभावकले घरमा पनि आफ्ना नानीबाबुहरुको अध्ययनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यले बालबालिकाको पहिलो पाठशाला भनेको परिवारका सदस्य नै भएकोले घरमा बिहान बेलुका अध्ययन गर्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले २०७७-७८ को १९ लाख २२ हजार रुपैयाँको आय–व्यय विवरण एवम् शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भेलाले रोहित प्रजाको संयोजकत्वमा शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । शिक्षक अभिभावक संघको सदस्यमा फूलमान थिङ, रञ्जित प्रजा, शर्मिला प्रजा, बिन्दामाया प्रजा चयन भएका छन् ।