Home मुख्य समाचार हेटौंडामा संघसंस्थाको समन्वयमा फेरि मास्क अभियान हुँदै

हेटौंडामा संघसंस्थाको समन्वयमा फेरि मास्क अभियान हुँदै

मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा पुनः मास्क अभियान सञ्चालन गर्न विभिन्न संघसंस्थाहरुलाई निर्देशन दिएको छ । आज साउन २५ गते सोमबारबारदेखि हेटौंडाको भिडभाड हुने विभिन्न स्थानमा मास्क अभियान सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले निर्देशन दिनुभएको हो ।

हेटौंडामा कोरोना संक्रमणको जोखिम रहिरहेको अवस्थामा निषेधाज्ञालाई समेत कडा पार्दै थप गरिएको छ । निषेधाज्ञा पुनः कडा पारिएसँगै मकवानपुर जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधनहरु आज सोमबारबाट फेरि जोरबिजोर प्रणालीमा चल्ने भएका छन् ।

विशेषगरी हेटौंडा बजार क्षेत्रमा व्यवसाय तथा यातायातहरु खुलेको अवस्थामा चहलपहल बढेको त छ नै, सर्वसाधारणहरु पनि बिना रोकटोक र स्वास्थ्यका न्यूनतम मापदण्डसमेत पालना नगरी हिँड्ने गरेको अत्यधिक पाइएको छ । कोरोना संक्रमणको प्रभाव अझै कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन निर्देशन दिँदै आएको छ, तर बजार क्षेत्रमा पनि धेरैजसो व्यक्तिहरु मास्क नै नलगाई र न्यूनतम भौतिक दुरीको पालनासमेत नगरी हिँड्ने गरेको पाइएको छ ।

यसै सन्दर्भमा सार्वजनिक स्थलहरुमा हिँडडुल गर्दा मास्क लगाउन, भौतिक दूरी पालना गराउनलगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन एक महिनाअगाडिबाट नै सुरु भएको मास्क अभियानलाई पुनः सोमबारबाट सञ्चालन गर्ने निर्णय गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । आजबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हेटौंडाका विभिन्न क्षेत्रमा अभियान सञ्चालन गर्न हेटौंडामा रहेका विभिन्न संघसंस्थाहरुलाई स्थानअनुसार जिम्मेवारी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रजिअ पाण्डेका अनुसार सोमबारदेखि हेटौंडाका ११ स्थानमा मास्क अभियान सञ्चालन गरिनेछ भने बैंकर्स, यातायात र लेखापढीका संघसंस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रमा मास्क अभियान सञ्चालन गर्नेछन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मास्क अभियानका लागि संघसंस्थाहरुलाई जिम्मेवारी पनि बाँडफाँड गरेको छ ।

जिम्मेवारी प्राप्त संघसंस्थाहरुले तोकिएको स्थानमा आवश्यकताअनुसार स्वयम्सेवक परिचालन गरी बुथ निर्माण, मास्क, सेनिटाइजरलगायतका सामग्रीहरु उपलब्ध गराई डेस्क सञ्चालन गर्नुपर्ने निर्णयसमेत गरिएको छ । जसअनुसार हेटौंडाको बसपार्कमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल हेटौंडा र पुरानो नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले अभियान सञ्चालन गर्नेछ । हेटौंडा बजारको सीमाचोकमा अभियान सञ्चालन गर्ने जिम्मेवारी जिल्ला सहकारी संघ मकवानपुरलाई दिइएको छ । बुद्धचोकमा अभियान सञ्चालन गर्ने जिम्मेवारी लायन्स क्लब इन्टरनेशनल एरिया–२ ले प्राप्त गरेको छ ।

ओम भवन अगाडिको ट्याम्पो पार्कमा रोटरी क्लब अफ हेटौंडा र टेम्पो तथा मझौला यातायात संघले संयुक्तरुपमा अभियान सञ्चालन गर्नेछन् । उद्योग वाणिज्य संघ चोक, मानसचोकमा मकवानपुर उद्योग वाणिज्य संघ र राडो नेपाल मकवानपुर तथा शीतल महल चोकमा मकवानपुर उद्योग वाणिज्य संघलाई नै अभियान सञ्चालन गर्न जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी यातायात कार्यालयअगाडि नयाँ नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत् नै जिल्ला अदालत र उच्च अदालत अगाडि मकवानपुर जिल्ला बार एसोसियसन, रक्तसञ्चार केन्द्रअगाडि नेपाल रेडक्रस सोसाइटी मकवानपुर र हेटौंडा औद्योगिक क्षेत्रको गेटअगाडि उद्योग संघ मकवानपुरले मास्क अभियान सञ्चालन गर्ने गरी निर्णय भएको छ ।

मास्क अभियानलाई दैनिकरुपमा सहजीकरण गर्ने, आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने, फुटपाथ हटाउने, दैनिक माइकिङ गर्ने र नगरप्रहरी परिचालन गर्ने कार्यहरु हेटौंडा उपमहानगरपालिकाले गर्नेसमेत जिम्मेवारी प्रदान भएको छ । हेटौंडाबाहेक अन्य स्थानीय तहहरुको हकमा बढी भिडभाड हुने स्थानहरुको पहिचान गरी स्थानीयरुपमा सक्रिय संघसंस्थाहरुसँग समन्वय गरेर मास्क अभियान सञ्चालन गर्न पनि प्रजिअ पाण्डेले निर्देशन दिनुभएको छ ।

यस्तै बैंकहरुमा भिडभाड नहुने सुनिश्चित गरी सेवा लिन आउने प्रत्येक सेवाग्राहीहरुलाई मास्क उपलब्ध गराउने र अनिवार्य मास्क लगाउन अनुरोध गर्ने काम गर्नका लागि बैंकर्स संघ मकवानपुरलाई जिम्मेवारी प्रदान गरिएको छ । सार्वजनिक सवारी साधनहरुमा प्रत्येक यात्रुलाई मास्क उपलब्ध गराउने र अनिवार्य मास्क लगाउन अनुरोध गर्ने कामको जिम्मेवारी पुरानो नारायणी यातायात कम्पनी प्रालि, नयाँ नारायणी यातायात कम्पनी प्रालि र सार्वजनिक मकवानपुर यातायात प्रालिलाई दिइएको छ । लेखापढी फर्ममा भिडभाड नहुने सुनिश्चित गरी फर्ममा सेवा लिन आउने प्रत्येक सेवाग्राहीहरुलाई मास्क उपलब्ध गराउने र अनिवार्य मास्क लगाउन अनुरोध गर्ने काम नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन मकवानपुरले नै गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version