मक्रान्चुलीः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा प्रजातान्त्रिक सामुदायिक पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालय अभियान समूह मकवानपुरले शनिबार पुस्तकालयलाई ५० हजार रुपैयाँ बराबरको १ सय ५१ थान पुस्तक हस्तान्तरण गर्नुका साथै पुस्तकालय उद्घाटन गरिएको हो ।
प्रजातान्त्रिक सामुदायिक पुस्तकालयका संयोजक भोलानाथ दाहालको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको प्रमुख आतिथ्यमा भएको पुस्तकालय उद्घाटन कार्यक्रममा मकवानपुुरगढी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्य रहेको थियो । पुस्तकालय उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले पालिकाका सबै वडामा पुस्तकालय स्थापना गर्न पालिकाले चालु आर्थिक बर्षमा योजना बनाएको बताउनुभयो । बालमैत्री पालिका घोषणा भएपछि हरेक वडामा बालउद्यान निर्माणसँगै बालउद्यान परिसरमै पुस्तकालय पनि स्थापना गर्ने योजना रहेको पुडासैनीले जानकारी दिनुभएको छ ।
वडा अध्यक्ष भागवत घिमिरेले पुस्तकालयको उचित व्यवस्थापन र सञ्चालनमा वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मकवानपुरगढी गाउँपालिकाको दलित समन्वय समितिकी उपाध्यक्ष मानकुमारी नेपालीले पठन संस्कृतिको विकास गर्न पुस्तकालय स्थापना गर्ने अभियानको प्रशंसा गर्नुहुँदै महिलाले शिक्षा हालिस गर्ने वातावरण निर्माण गर्नुपर्ने औँल्याउनुभयो । यसअघि अभियानले मकवानपुर जिल्लाबा विभिन्न स्थानमा ५ वटा पुस्तकालय स्थापना गरिसकेको छ । जिल्लाका सवै पालिकामा पुस्तकालय स्थापनापछि वडा तहमा पुस्तकालय अभियान सञ्चालन गरिने बताइएको छ ।
पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य रमेशप्रसाद लामिछानेले पुस्तकालय अभियानले पठन संस्कृतिको विकासमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । पुस्तकालय अभियानकै सदस्य समेत रहनुभएका वरिष्ठ पत्रकार प्रताप विष्टले अभियानको सहयोगमा स्थापित पुस्तकालयको संरक्षण, विकास र प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । पुस्तकालय अभियान समूहका सदस्य कैलाश धितालले पुस्तकालय अभियानका बारेमा जानकारी गराउनुभएको थियो । प्रजातान्त्रिक पुस्तकालयका संयोजक भोलानाथ दाहालले पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गरिने बताउनुभएको छ ।
पुस्तकालय अभियान समूहमा आवद्ध भई हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, वंशगोपाल माविका प्रधानाध्यापक रमेश प्रसाद लामिछाने, हेटौंडा–६ का भीमसेन पौडेल, केशव धिताल, पूर्णभद्र चौलागाई, राजु गुरुङ, देवराज गौतम, विजय पौडेल, र भरत सापकोटाले जनही ५ हजार रुपैयाँ सहयोग गरेका छन् । मकवानपुरगढी गाउँपालिकामा प्रजातान्त्रिक सामुदायिक पुस्तकालयलाई सहयोग गर्ने व्यक्तिहरु पुस्तकालय अभियान समूहको सहयोगमा स्थापित हेटौंडा–६, शान्ति टोलस्थित शान्ति पुस्तकालयका सदस्यहरु हुनुहुन्छ ।