मकवानपुरगढीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सुरु गरिँदै ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ मा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता प्रक्रिया सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र अभियानअन्तर्गत् मकवापनुरगढीमा सोमबारबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरुवात भएको हो ।

गढी–५ स्थित वडा कार्यालय धादिङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेकाले सम्पूर्ण वडाका बासिन्दालाई विवरण दर्ता गराउन वडा अध्यक्ष जीतबहादुर घिमिरेले आग्रह गर्नुभएको छ । राष्ट्रिय परिचयपत्रका लागि १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले आफ्नो विवरण दर्ता गराउन सक्छन् । व्यक्तिको नामथर, जन्ममिति, लिंग, ज्ञ आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, श्रीमान वा श्रीमतीको नाम तथा बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै निवेदनमा १० वटै औंलाको छाप, आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्ने जनाइएको छ ।

मकवानपुरगढी ५ मा १० दिनसम्म यो अभियान सञ्चालन हुने वडा सचिव हरिप्रसाद धितालले जानकारी दिनुभयो । नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्यांक तथा अभिलेख नीति एवम् योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको कामसमेत गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी) सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।