सानो मान्छेले यसरी चिया खान हुँदैन के छोरी, राम्रो गर्दैन । कस्तो अटेर गर्छे भन्या यो त । सधैं चिया खाने बेलामा आमाका यी वाक्यहरु सुनेपछि आमालाई ङिच्च दात देखाउँछु अनि उहाँले बनाउनुभएको चिया सुरुपसुरुप गर्दै पिउँछु । मेरो दिनचर्या नै आमाको हातको चिया खाएपछि हुन्छ । त्यसो त कुनै कुराको पनि लत लाग्नु राम्रो होईन भनेर मलाई थाहा नभएको होइन तरपनि कतिपय कुराले आफुलाई राम्रो गर्दैन भनेर थाहा हुँदा हुँदै पनि हामी त्यसलाई छाड्न सक्दैनौं नि ? हो, चिया पनि मेरो लागि त्यस्तै नै हो ।
गर्मीले छट्पटाएर बसेको दिनमा पनि एक कप चिया नखाई नहुने मान्छेहरुमा म पनि पर्छु । यति सम्म कि चिया नखाएको दिन त केही छुटे जस्तो, केही अपुरो रहेजस्तो लाग्छ मलाई । चिया यति प्यारो भएपनि म आफैं भने चिया पकाएर खादिनँ । केही खान मन लागे आफैं पकाएर सबैलाई खुवाउने म, चिया भने आमाले बनाउनुभएकै चाहिन्छ मलाई ।
यस्तो चिया नखाई नहुने मान्छेले बाहिर गएर चाहिँ चिया खादिनँ भनेर सुन्दा अचम्म मान्नुहोला । तर म घरभन्दा बाहिर कतै पनि चिया खान रुचाउँदिन । घरबाट टाढा बस्ने गरी कतै गए भने पनि मलाई चिया खाने मन हुँदैन । सायद चिया भन्दा पनि घरमा आमाले आफ्नो माया मिसाएर पकाउनुभएको चियाको मिठास मलाई बढी प्रिय छ !
एक महिना जति अगाडि म केहि दिन बस्ने गरी मामाघर गएकी थिए । मामाघर भन्ने बित्तिकै मेरो मन यसै फुरुङ्ग भैहाल्छ । सबैभन्दा प्यारो ठाँउ, मामाघर जाँदा खुसीको लहर मेरो मनमा छाएको प्रस्ट देखिन्छ । चिया भनेर हुरुक्क हुने मलाई मामाघर बस्दा चियाको याद पनि आएन । आफुलाई प्रिय लाग्ने कुनै पनि वस्तुलाई सधैं नसम्झिए पनि मनको कुनै कुनामा भने त्यो सदा, प्रिय बनेर रहने रहेछ । बिर्सनु र याद नगर्नुमा सायद यही फरक हुँदो हो ।
मामाघरमै हुँदा माइजुले एकदिन मेरा लागि भनेर चिया पकाएर ल्याइदिनुभयो । माइजुले यति माया गरेर ल्याइदिनुभएको थियो, मैले नाइँ भन्नै सकिनँ । माइजुको मन राख्नकै लागि भए पनि खाएँ । मन लागेर केही गर्नु र मन राख्नलाई केही गर्नुमा कति फरक हुन्छ है ?
खैर, दिनहरु राम्रैसँग बितिरहेका थिए मामघरमा तरपनि घर भनेको आखिर घर नै हो । केही दिन मामाघर बसेपछि म घर फर्किए । म घर आइपुग्दा साँझ पर्न आँटेको थियो । आमा पिँढीमा बसेर तरकारी केलाउँदै हुनु हुँदो रहेछ । ’म राम्रोसँग आए आमा, मामाघरमा पनि सबैलाई सन्चै छ ।’ यति भनिसकेपछि आमालाई हेर्दै भने, आमा, आज चिया नखाने? आमा तरकारी केलाउनमै व्यस्त हुनुहुन्थ्यो । मैले त्यति भनेपछि पुलुक्क मतिर हेरेर मुसुक्क हाँस्नु भयो अनि भान्सातिर जानुभयो । कति दिन पछि आमाको हातको चिया खान पाइने खुसीले म पनि मुस्कुराउँदै भित्र पसेँ ।