हेटौंडाः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको फार्मेसी सेवा उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच फार्मेसी सेवा उद्घाटन गरिएको हो । कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
मन्त्री बस्नेतले फार्मेसीको उद्घाटन गर्नुहुँदै छोटो समयमा नै बागमती प्रदेशको राजधानी हेटौंडामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फार्मेसी खोलेर राम्रो काम गरेको बताउनुभयो । अब १६ वटा स्थानीय तहमा यो सेवा सुरु हुनुपर्ने उहाँले बताउनुभयो । जिल्ला आयुर्वेद सेवा केन्द्रका अध्यक्ष मधु बजगाईंको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
आयुर्वेद स्वास्थ्य सेवा केन्द्रमा अहिले मकवानपुरका विभिन्न स्थानबाट उपचार गराउनका लागि दैनिक ७० जनादेखि ८० जना सेवाग्राही आउने गरेको बताउनुभयो । अब ५० बेडसहितको अस्पातल सेवा पनि यस केन्द्रले सञ्चालन गर्ने अध्यक्ष बजगाईंले बताउनुभयो । विहान १० बजेदेखि ३ बजेसम्म उपचारका लागि सेवाग्राही आउन सक्ने र ल्याब, फार्मेसी र ओपीडी सेवा हप्ताको सातै दिन खुला हुने उहाँले बताउनुभयो ।
अहिले बकैया, बागमती, कैलाश र थाहामा सेवा सुरु भएको र अन्य गाउँपालिकामा पनि आयुर्वेद स्वास्थ्य सेवा सुरु गरिने अध्यक्ष बजागाईंले बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।