Home मुख्य समाचार भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा रहेका ३५५ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार र बिहीबार एन्टिजिन विधिबाट गरिएको परीक्षणमा ९६९ कैदीबन्दीमध्ये ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भीमफेदी कारागारका प्रमुख नारायण पाण्डेकाअनुसार एन्टिजिन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भए पनि संक्रमण पुष्टि भएका कैदीबन्दीमा कोरोना सम्बन्धी लक्षण देखिएको छैन ।

साउन ११ गते भीमफेदी कारागारबाट १४ जना कैदीबन्दी नख्खु कारागार सरुवा गर्ने क्रममा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सरुवा भएका कैदीबन्दीमा संक्रमण पुष्टि भएसँगै बुधबार र बिहीबार दुईदिनमा सबै कैदीबन्दीमा एन्टिजिन विधिबाट कोरोना परीक्षण गरिएको भीमफेदी कारागार प्रमुख पाण्डेले बताउनुभएको छ ।

संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागार भवनको माथिल्लो तल्लामा राखिएको र संक्रमण नभएका कैदीबन्दीलाई भुइँतल्लामा राखिएको कारागारप्रमुख पाण्डेले बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीसँग समन्वय गर्दा एन्टिजिन विधिबाट गरिएको परीक्षण नै पर्याप्त भएकोले पीसीआर विधिबाट परीक्ष्ँण नगरिने भएको कारागार प्रमुख पाण्डेको भनाइ छ ।

भीमफेदी कारागारमा रहेका कैदीबन्दीमध्ये बैशाख पहिलो सातासम्ममा ५ सय ६५ जनाले कोभिसिल्ड दुई डोज नै लगाइसकेका थिए । कोभिसिल्ड लगाएका मध्ये केही छुटिसकेका र नयाँ आउने कैदीबन्दीलाई खोप लगाउन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ । भीमफेदी कारागारभित्रै स्वास्थ्य उपचार कक्ष पनि रहेको छ ।

एकजना अनमीको दरबन्दी रहेको कारागारमा कैदीबन्दी मध्येकै ४ जना स्वास्थ्यकर्मीले पनि सेवा दिइरहेको कारागार प्रमुख नारायण पाण्डेले जानकारी दिनुभएको छ । कारागारभित्र स्वास्थ्य उपचारका लागि आवश्यकताअनुसार भीमफेदी प्राथमिक स्वास्थ्य चौकी र जिल्ला स्वास्थ्य कार्यालयसँग पनि समन्वय गरिने उहाँको भनाइ छ ।

Exit mobile version