र्‍यालीमा सहभागीहरु ।

हेटौंडाः मकवानपुरमा रहेका फुटबल क्लबहरुले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको समर्थनमा हेटौंडामा प्रदर्शन गरेका छन् । मकवानपुरमा जिल्ला लिग खेल्ने २२ वटा क्लबहरुले संयुक्तरुपमा प्रशिक्षक अलमुताइरीको पक्षमा सोमबार हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका हुन् ।

प्रशिक्षक अल्मुताइरीलाई मानसिक दवाब दिई राजीनामा दिनपर्ने अवस्थामा पुग्न बाध्य पारिएको भन्दै मकवानपुरका फुटबल क्लबहरुले सामूहिकरुपमा शान्तिपूर्ण विरोध र्‍याली गरेका हुन् । प्रशिक्षकलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्ने, उनीमाथि कुनै किसिमको दबाव बनाउन नपाइने, उनलाई राजीनामा दिन बाध्य हुनेगरी मानसिक दबाव बनाउनेलाई छानबिन गरेर कारवाही गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरिएको थियो । मकवानपुर जिल्ला फुटबल संघको कार्यालयबाट हेटौंडाको बुद्धचोकसम्म र्‍यालीको आयोजना गरिएको थियो ।

यसअघि क्लबहरुले सोही विषयमा मकवानपुर जिल्ला फुटबल संघमार्फत् अखिल नेपाल फुटबल संघ एन्फालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । छोटो समयमा नै फुटबलको विकासमा उल्लेख्य भूमिका खेलेका प्रशिक्षक अलमुताइरीलाई फुटबल क्षेत्रका केही धमिराहरुले फुटबलको विकास भएको देख्न नसकी निकाल्न खोजिरहेको भन्दै फुटबलको विकासमा अवरोध पुर्‍याउन खाजिरहेकाहरुलाई तुरुन्त छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन तथा दोषीलाई कारबाही गर्न माग गरेका छन् । यस्तै नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा अब्दुल्ला अल्मुताइरीलाई नै उपयुक्त भएको र मकवानपुरका फुटबल क्लबहरुको समर्थन प्रशिक्षक अल्मुताइरीको साथमा रहेको जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले यस विषयमा तुरुन्त एन्फाका पदाधिकारीहरुसँग छलफल गरेर सत्यतथ्य बाहिर ल्याउन अनुरोध गर्ने बताउनुभएको छ । स्थानीय स्तरका क्लबहरुबाट नै एन्फालाई ध्यानाकर्षण गरिनु उचित भएको र नराम्रो कामको सधैं विरोध गरेर सम्बन्धित निकायलाई सचेत गराउन पर्ने उहाँको भनाई रहेको छ । खेलकुदमा राजनीतिलाई प्रवेश गराउने काम भइरहेको अनुभव भएको भन्दै अध्यक्ष लामाले ए डिभिजन लिगसमेत रोक्ने प्रयास भइरहेकाले यस्तो काम हुन नहुने बताउनुभएको छ । ए डिभिजन लिग रोकेर फुटबल खेलाडीहरुको भविष्य अन्यौलमा पार्न नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका विभिन्न फुटवल क्लबका पदाधिकारीहरु त्था खेलाडीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षक अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफूले एन्फामा राजीनामा दिन गइरहेको र यसको मुख्य कारण एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ रहेको र उनले विगत ३ हप्तादेखि आफुबिरुद्ध नाटक गरिरहेको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तपछि देशभरी नै एक प्रकारको तरंग फैलिएको थियो । देशभरका फुटबल प्रेमी नागरिकहरुले प्रशिक्षक अल्मुताइरीको पक्षमा समर्थन जनाउँदै उनलाई राजीनामा नदिन आग्रह गरेका थिए भने सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाही गर्न माग गरेका थिए ।

प्रशिक्षक अल्मुताइरी राजीनामा दिन आइतबार नै एन्फा कार्यालय गएपनि उनलाई केही दिन आराम गरेरमात्र निर्णय लिन आग्रह गर्दै फर्काइएको थियो । उनी गत चैत २२ गते १ वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त भएका थिए भने उनलाई थप समय राख्नको लागि एन्फाले सम्झौता थप गर्ने तयारी समेत गरिरहेको जनाएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!