हेटौंडाः मकवानपुरमा कोरोना संक्रमण हुने संख्या फेरि दिनानुदिन बढ्दै गएको छ । जिल्लामा जारी निषेधाज्ञा थप खुकुलो बनाएसँगै जिल्लामा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।
जिल्लामा अहिले सबैप्रकारका पसलहरु खुलेका छन् भने यातायातका साधनहरु लामो दुरीमा पनि चलेका छन् । मानिसहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी हिँड्ने गरेको पाइरहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संक्रमण दर साउन १ गतेपछिकै उच्च हो । केही दिनअघि परीक्षण कम गरेसँगै कोरोना संक्रमण दरमा कमी आइरहेको थियो । अहिले फेरि बढ्न थालेको हो । पछिल्लो २४ घण्टामा २ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा ६१ जनामा र ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोराना पुष्टि हुनेहरुमा सबैजसो हेटौंडा उपमहानगरपालिकाभित्रका रहेका छन् । हेटौंडा उपमहानगरपालिकामा मात्र पछिल्लो २४ घण्टामा २ सय ८३ जनाको पीसीआर गर्दा ५४ जनामा कोरोना पोजेटिभ र ९ जनाको एन्टिजेन गर्दा सबैको कोरोना नेगेटिभ देखिएको हो । यस्तै, थाहा नगरपालिकाका ८ जनामा र मकवानपुरगढी गाउँपालिकाका ५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, मनहरी गाउँपालिकाका ४ जनामा, भीमफेदी गाउँपालिकाका २ जनामा, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा समान एक–एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा अहिले ५ सय ५० जना सक्रिय संक्रमितहरु रहेका छन् । त्यीमध्ये ५ सय ८ जना होम आइसोलेनमा र ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसै अवधिमा कोरोनाबाट १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार सार्वजानिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
सोमबार स्वाब दिनेको सङख्या घट्यो
हेटौंडाः सोमबार हेटौंडामा स्वाब संकलन गराउनेको संख्या घटेको छ । सोमबार हेटौंडामा १ सय २२ जनाले स्वाब संकलन गराएका छन् । कोभिड– १९ को आरटी पीसीआर विधिबाट परीक्षण गर्ने क्रममा हेटौडा–१० स्थित गोरक्षश्वर धाममा रहेको स्वाब संकलन केन्द्रबाट सोमबार १ सय २२ जनाले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो । स्वाब संकलन गराउनेमा ४६ जना महिला र ७६ जना पुरुष छन् । आइतबारको स्वाब संकलन संख्या भन्दा सोमबारको स्वाब संकलन संङ्ख्या ५४ जनाले घटेको छ ।