हेटौंडाः बागमती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामध्ये मकवानपुरमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकअनुसार प्रदेशका अन्य जिल्लाको तुलनामा मकवानपुरमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको हो ।

आर्थिक वर्ष २०७६-०७७ मा बागमती प्रदेशका १० वटा जिल्लामा जम्मा २ सय ६९ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा मकवानपुर जिल्लामा मात्रै एक सय २४ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । बागमती प्रदेश प्रहरी कार्यालयको कार्यक्षेत्रका १० जिल्लामा दर्ता भएका लागूऔषध मुद्दामध्ये ४६ प्रतिशत मकवानपुर जिल्लामा दर्ता भएको हो ।

आर्थिक वर्ष २०७६-०७७ मा प्रदेशको चितवन जिल्लामा ८५ वटा लागूऔषध मुद्दा दर्ता भएको थियो । यसैगरी, धादिङमा २७, सिन्धुलीमा १३, काभ्रेपलाञ्चोकमा ९, नुवाकोटमा ७ तथा दोलखा र रसुवामा २–२ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार उक्त आर्थिक वर्षमा सिन्धुपाल्चोक तथा रामेछापमा लागूऔषधसम्बन्धी मुद्दा शून्य रहेको थियो ।

उक्त आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दामा मकवानपुरबाट एक सय ८३ जना पक्राउ परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी चितवनबाट ८५, धादिङबाट ३६, सिन्धुलीबाट २९, काभ्रेबाट १४, नुवाकोटबाट १३, रसुवाबाट ३ र दोलखाबाट दुईजना गरी कुल ४ सय ८ जना मानिस लागूऔषध मुद्दामा पक्राउ परेका थिए ।

लागूऔषध गाँजा तथा अफिम बरामद गरिएको परिमाणको आधारमा पनि मकवानपुर जिल्ला अग्रस्थानमा रहेको छ । आर्थिक वर्ष २०७६-०७७ मा बागमती प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लाहरुमा बरामद गरिएको गाँजामध्ये झण्डै ७० प्रतिशत मकवानपुर जिल्लाबाट बरामद भएको हो ।

बरामद गरिएको २ हजार २ सय ८५ केजी गाँजामध्ये एक हजार ५ सय ८५ केजी गाँजा मकवानपुरबाट बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । मकवापनुरपछि सबैभन्दा बढी चितवन जिल्लाबाट ५ सय ७८ केजी गाँजा बरामद गरिएको थियो । उक्त वर्ष प्रहरीले बरामद गरेको ३ सय ७ ग्राम अफिममध्ये सबै मकवानपुर जिल्लाबाट बरामद गरिएको छ । प्रहरीले बरामद गरेको जम्मा २ सय ३४ केजी चरेशमध्ये मकवानपुर जिल्लाबाट ४८ केजी बरामद भएको थियो । उक्त वर्ष धादिङ जिल्लाबाट सबैभन्दा बढी एक सय ४६ केजी चरेश बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, गत आर्थिक वर्ष २०७७-०७८ मा पनि प्रदेशका अन्य जिल्लाभन्दा मकवानपुरमा बढी लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको छ । प्रहरीमा दर्ता भएका जम्मा २ सय ६० मुद्दामध्ये ९९ वटा लागूऔषधसम्बन्धी मुद्दा मकवानपुर जिल्लामा रहेको छ । मकवानपुरपछि चितवन जिल्लामा ९५ वटा मुद्दा दर्ता भएको छ भने सिन्धुलीमा ३२ वटा मुद्दा दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी, धादिङमा १५, काभ्रेपलाञ्चोकमा ८, सिन्धुपाल्चोक र नुवाकोटमा ५–५ वटा लागूऔषध मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्ष दोलखा र रसुवामा लागूऔषधसम्बन्धी मुद्दा शून्य रहेको छ ।

प्रहरीले लागूऔषध मुद्दामा गत आर्थिक वर्ष ४ सय ११ जना मानिस पक्राउ परेकोमध्ये मकवानपुरबाट सबैभन्दा बढी एक सय ६० जना पक्राउ गरेको छ । मकवानपुरपछि चितवनबाट एक सय ४२ जना पक्राउ परेका छन् भने सिन्धुलीबाट ५३ जना पक्राउ परेका छन् । लागूऔषध मुद्दामा पक्राउ पर्नेहरुमा धादिङबाट २७ जना, काभ्रेबाट ११ जना, नुवाकोटबाट १० जना, सिन्धुपाल्चोकबाट ७ जना र रामेछापबाट एक जना छन् ।

गत आर्थिक वर्षमा पनि मकवानपुर जिल्लाबाट ठूलो परिमाणमा प्रहरीले गाँजा तथा अफिम बरामद गरेको छ । प्रहरीले बरामद गरेको एक हजार ६ सय १८ ग्राम अफिममध्ये सबै मकवानपुर जिल्लाबाट बरामद गरिएको हो । यस्तै, प्रहरीले बरामद गरेको २ हजार ५ सय १४ केजी लागूऔषध गाँजामध्ये मकवानपुर जिल्लाबाट मात्र एक हजार ५ सय ६२ केजी बरामद गरेको छ । प्रहरीले चितवनबाट ५ सय २८ केजी, धादिङबाट एक सय ४७ केजी, सिन्धुलीबाट एक सय ५ केजी, काभ्रेबाट ५२ केजी, दोलखाबाट २० केजी र सिन्धुपाल्चोकबाट एक केजी गाँजा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष प्रहरीले सिन्धुलीबाट एक सय ११ ग्राम, चितवनबाट ९६ ग्राम र मकवानपुरबाट २७ ग्राम गरी जम्मा २ सय ३४ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । यस्तै, प्रहरीले धादिङबाट एक सय १० केजी, मकवानपुरबाट २४ केजी र चितवनबाट एक केजी गरी जम्मा एक सय ३५ केजी चरेश बरामद गरेको जनाएको छ ।

मुद्दा दर्ता कमी, पक्राउ पर्ने बढे
हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मातहतका १० जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा दर्तामा केही कमी आएको भए पनि पक्राउ पर्नेको संख्या भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा २ सय ६९ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्षमा २ सय ६० वटामात्र मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । प्रहरीमा दर्ता भएको लागूऔषध मुद्दा ३ प्रतिशतले कमी आएको हो ।

आर्थिक वर्ष २०७६-०७७ मा ४ सय ८ जना मानिस लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेकामा आर्थिक वर्ष २०७७-०७८ मा ४ सय ११ जना पक्राउ परेका हुन् । लागू औषध मुद्दामा पक्राउ पर्नेको संख्या भने एक प्रतिशतले वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी प्रहरीले बरामद गरेको लागूऔषध गाँजा तथा अफिमको परिमाणमा पनि वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २ हजार २ सय ८५ केजी गाँजा बरामद गरेकोमा गत आर्थिक वर्ष २ हजार ५ सय १४ केजी गाँजा बरामद भएको छ, जुन १० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ३ सय ७ ग्राम अफिम बरामद भएकोमा गत आर्थिक वर्ष ४ सय २७ प्रतिशतले वृद्धि भई एक हजार ६ सय १८ ग्राम अफिम बरामद गरिएको हो ।