स्मारकमा अवलोकनका लागि आएका पर्यटकहरु ।

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत वैशाख २० गतेदेखि जिल्लामा सुरु गरेको निषेधाज्ञा आगामी साउन १४ गतेसम्म थप गरिएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि खेल तथा मनोरञ्जनका क्षेत्रहरु पूर्णरुपमा बन्द गरिएको छ । तर, हेटौंडा–११ स्थित शहीद स्मारकमा भने पर्यटकलाई प्रवेश अनुमति खुला गरिएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गत बुधबार जारी गरेको निषेधाज्ञाको आदेशमा पनि पार्क तथा स्मारकहरु खुला गर्ने उल्लेख गरिएको छैन । आदेशको ६ नम्बर बुँदामा सञ्चालन गर्न नपाइने सेवा तथा कार्यहरुअन्तर्गत् भनिएको छ– ‘शैक्षिक संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, पिकनिक स्थल, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, स्पा, सैलुन तथा ब्युटीपार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, स्ट्रिट फुड पसल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, फुटसल पूर्णरुपमा बन्द रहने ।’

शहीद स्मारक विकास समितिले स्मारक अवलोकन प्रवेशका लागि सूचना जारी नगरे पनि आएकाहरुलाई अवलोकनका लागि प्रवेश गर्न दिइएको स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । मकवानपुर जिल्लाबाहेक अन्यन्त्र ठाउँबाट पनि पर्यटकहरु आउने हुँदा पनि स्मारक प्रवेशमा रोक नलगाइएको उहाँले बताउनुभयो ।

सार्वजनिक यातायात खुलेपछि भ्रमणका लागि स्मारकमा पर्यटकहरु आउने गरेको न्यौपानले जानकारी दिनुभयो । सामान्य अवस्थामा विदाको दिनबाहेक दैनिक करिब ४ सय जना पर्यटकहरु स्मारक घुम्न आउने गरेको भए पनि अहिले कोरोना भाइरस संक्रमणको जोखिम अवस्थामा पनि दैनिक करिब २ सय पर्यटक स्मारक घुम्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।

शहीद स्मारकभित्रका सुन्दर दृश्य तथा जीवजनावरहरुको अवलोकनका लागि खुला गरेको भए पनि पिकनिक तथा अन्य मनोरञ्जनका क्रियाकलापहरु भने बन्द गरिएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । गेटबाहिर भिड गरेर राख्नुभन्दा आएका पर्यटकलाई अवलोकनका लागि स्मारकभित्र पठाएको उहाँले जानकारी दिनुभयो । स्मारक प्रवेशका लागि प्रतिव्यक्ति ४० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

मकवानपुर जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि नै रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे जानकारी दिनुभयो । अहिलेको अवस्थालाई मध्यनजर गर्दै भिडभाड बढ्ने क्षेत्रदेखि पर्यटकीय स्थल खोल्न अनुमति दिइएको छैन । तर स्मारकमा भने सम्बन्धित निकायको समन्वय तथा अनुमतिबिना नै पर्यटकीय स्थल खुला गरिएको छ ।

शहीद स्मारकमा नेपालको नक्साको आकर्षक आर्ट, दुर्लभ जनावरदेखि चराचुराङ्गी, नेपालको प्रजातान्त्रिक आन्दोलनलाई नेतृत्व गर्ने शीर्ष नेताहरुको सालिक, इतिहासको विभिन्न कालखण्डमा सहादत प्राप्त १२ जना शहीदको एउटै ढुंगामा कुँदिएको शालिक, हरियाली वतावरण र विभिन्न आकर्षक दृश्यहरुको अवलोकनका लागि पर्यटकहरु आउने गर्दछन् । तर, अहिलेको कोरोना भाइरस संक्रमण जोखिमको अवस्थामा मकवानपुरमा निषेधाज्ञा जारी रहेकाले भिडभाड बढ्दा स्मारकमा कोरोनाको जोखिम देखिएको छ । सामूहिकरुपमा पर्यटकलाई स्मारकमा प्रवेश खुला गरिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको सुनिश्चितता नहुने भएकाले कोरोना भाइरस संक्रमणको जोखिम बढ्नसक्नेतर्फ शहीद स्मारक विकास समिति जिम्मेवार बन्नु आवश्यक छ ।