Home मुख्य समाचार बागमतीमा अनलाइनमार्फत सवारी साधनको राजश्व भुक्तानी प्रणाली सुरु

बागमतीमा अनलाइनमार्फत सवारी साधनको राजश्व भुक्तानी प्रणाली सुरु

अनलाइन माध्यमबाट सवारी साधनको राजश्व भुक्तानी गर्ने प्रणालीको सुरुवात गर्नुहँदै मुख्यमन्त्री डोरमणि पौैडेल ।

हेटौंडाः बागमती प्रदेश सरकारले सवारी साधनको राजश्व संकलनका लागि अनलाइन सेवा सुरुवात गरेको छ । शुक्रबार प्रदेशको राजधानी हेटौंडामा एक समारोहका बीच मुख्यमन्त्री डोरमणि पौडेलले अनलाइन मार्फत राजश्व भुक्तानी गर्ने प्रणालीको सुरुवात गर्नुभयो । एकजना सेवाग्राहीको अनलाइनमार्फत राजश्व भुक्तानीको प्रक्रियालाई प्रविष्ट गराएर मुख्यमन्त्री पौडेलले अनलाइनमार्फत राजश्व असुली गर्ने प्रणालीको सुरुवात गर्नुभएको हो ।

रावश्व संकलनको प्रक्रिया सहज बनाउनुका साथै बिचौलियाको भूमिका हटाउने अपेक्षासहित अनलाइन प्रणाली विकास गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीन कुमार सिंहले जानकारी दिनुभएको छ । देशभरका सवारी साधनमध्ये झण्डै ४७ प्रतिशत सवारी साधन बागमती प्रदेशमा मात्रै रहेको जानकारी गराउनुहुँदै करिब साढे १६ लाख सवारी धनीले अनलाइनमार्फत राजश्व रकम दाखिला गर्न पाउने प्रवक्ता सिंहको भनाइ थियो । अनलाइनमार्फत राजश्व भुक्तानी गरेर भुक्तानीको विवरण र क्युआर कोड समेत प्राप्त हुने भएकोले उक्त पत्र लिएर हिँड्दा बिलबुक लिएर हिँड्नुपर्ने झन्झट पनि हट्ने अपेक्षा गरिएको प्रवक्ता सिंहले दावी गर्नुभयो ।

प्रदेशको प्रमुख आय स्रोतको रुपमा रहेको सवारी साधनको राजश्व सहजरुपमा दाखिला गर्ने व्यवस्था मिलाएर आयको स्रोत सुरक्षित र व्यवस्थित गर्न खोजिएको मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ थियो । अनेकौं चुनौतिका बाबजुत प्रदेश सरकारले डिजिटल प्रणालीलाई प्रयोगमा ल्याएको पनि मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव पराजुलीले प्रदेश सरकार मातहतका ६ वटा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन करार समेत गर्नुभएको थियो । मन्त्रालयले सार्वजनिक गरेको प्रणालीमा आफ्नो सवारी साधनको विवरण प्रविष्ट गरेर सेवा प्रवाहलाई सहज बनाउन सेवाग्राहीलाई सचिव पराजुलीले आग्रह गर्नुभएको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version