Home मुख्य समाचार यातायातको अनलाइन कर भुक्तानी सेवा आज शुभारम्भ हुने

यातायातको अनलाइन कर भुक्तानी सेवा आज शुभारम्भ हुने

हेटौंडाः बागमती प्रदेश सरकारले आज शुक्रबार यातायात क्षेत्रका विभिन्न कर तथा राजश्वको अनलाइन भुक्तानी सेवा शुभारम्भ गर्ने भएको छ । अनलाइन भुक्तानी सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले आज शुक्रबार प्रदेश राजधानी हेटौडामा शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यतायातसँग सम्बन्धित विभिन्न प्रकारका कर तथा राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवानालगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बागमती प्रदेश सरकारले गरेको हो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र बैंकिङ एपबाटै तिर्न सकिने बताउनुभयो । यसले ब्लुबुक नवीकरणलगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उहाँले बताउनुभयो । महामारीमा भीड कम गर्न पनि यो सुविधाले सघाउ पुग्ने मन्त्री फुयाँलले विश्वास व्यक्त गर्नुभयो ।
‘सकेसम्म सेवा लिन कार्यालयमा आउन नपर्ने व्यवस्था गर्नुपर्छ भन्ने मान्यता हो । तर, कतिपय कागजी कामका लागि सेवाग्राही आउनुपर्ने त हुन्छ’, मन्त्री फुयाँलले भन्नुभयो– ‘पहिलो चरणमा भने राजस्व बुझाउन पनि लाइनमा बस्नुपर्ने बाध्यता हटाउन खोजेका छौं । थप सुविधाहरु पनि अनलाइनमा ल्याउँदै जान्छौं ।’

यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ । त्यस्तै वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी करलगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिनेछ ।

Exit mobile version