Home मुख्य समाचार २८ जनामा कोरोना संक्रमण पुष्टि, हेटौंडा अस्पतालमा २५ जना उपचाररत

२८ जनामा कोरोना संक्रमण पुष्टि, हेटौंडा अस्पतालमा २५ जना उपचाररत

हेटौंडाः हेटौंडा अस्पतालस्थित पिसिआर ल्याबमा गरिएको परीक्षणमा बिहीबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ वार्डका इन्चार्ज डा. सागर काफ्लेका अनुसार ९२ जनाको स्वाब नमूना पिसिआर परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबीच बिहीबार हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा कोरोना संक्रमण भए नभएको परीक्षण गर्न १ सय ६० जनाको स्वाब संकलन गरिएको छ । यस्तै हेटौंडा अस्पतालमा उपचाररत १२ जनाको स्वाब पिसिआर परीक्षणका लागि संकलन गरिएको डा. काफ्लेले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालको कोभिड–१९ वार्डमा बिहीबार २५ जना उपचाररत छन् । ७ जना आइसियुमा र १८ जना एडियु वार्डमा उपचाररत छन् । पछिल्लो तीन दिन हेटौंडा अस्पतालको कोभिड–१९ वार्डमा मृत्यु शून्य छ ।

बिहीबार एचडियु वार्डबाट २ जना डिस्चार्ज भएका छन् भने २ जना नयाँ भर्ना भएका छन् । कोभिड–१९ संक्रमणका लक्षणहरु देखिए पनि समयमै स्वाब परीक्षण नगराई संक्रमण भई गम्भीर अवस्थामा परीक्षण गराएर उपचार गराउन आउँदा विरामीमा समस्या बढ्ने गरेको डा. काफ्लेको भनाइ छ । हेटौंडा अस्पतालको कोभिड–१९ वार्डमा अहिले दैनिक औसत १ सय १० सिलिण्डर अक्सिजन प्रयोग भइरहेको छ । दैनिक १५ सिलिण्डर अक्सिजन हेटौंडा अस्पतालमै रहेको प्लान्टबाट उत्पादन भइरहेको छ भने नपुग अक्सिजन बाहिरबाट खरिद गरिरहेको छ ।

उद्योग संघ मकवानपुरले स्थापना गर्ने भनिएको अक्सिजन प्लान्ट जडानको प्रक्रियामा छ । हेटौंडा अस्पतालमा अहिले ३ सय ५० सिलिण्डर अक्सिजन मौज्दात रहेको डा. काफ्लेले बताउनुभयो ।

Exit mobile version