मकवानपुरका बक्सिङ खेलाडी, प्रशिक्षक तथा बक्सिङ संघका पदाधिकारीहरु ।

हेटौंडाः अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि काठमाडौंमा भएको छनोट प्रतियोगितामा मकवानपुरका २ खेलाडी विजयी भएका छन् । छनोट प्रतियोगितामा सहभागी मकवानपुरका ३ जना खेलाडीमध्ये २ जना खेलाडीले जीत हात पारेका हुन् ।

१७ वर्षदेखि १८ वर्ष उमेर समुहमा युथअन्तर्गत ६४ केजीमा प्रतिस्पर्धा गरेका मकवानपुरका सोहन राईले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनका विपक्षीमा रहेका ललितपुरका सुशान्त शर्मालाई उनले दोस्रो राउण्डमा नै प्रतियोगिताबाट नकआउट गराइदिए । दोस्रो राउण्डमा नै सुशान्त खेल्न नसक्ने भएपछि रेफ्रिले सोहनलाई विजयी घोषित गरेको मकवानपुरका बक्सिङ प्रशिक्षक लालबहादुर पौडेलले जानकारी दिनुभयो ।

यसैगरी १५ देखि १६ वर्ष उमेर समुहमा जुनियर खेलाडीतर्फ ४८ केजीमा दमककी अनिशा कुमाललाई पराजित गर्दै मकवानपुरकी रश्मि घलान विजयी भएकी छिन् । ३ राउण्ड भएको खेलमा ५ जना जजहरुको निर्णयअनुसार ५ जना नै जजले रोशनीलाई विजेता घोषित गरेका हुन् ।

जुनियरतर्फ नै ५४ केजी तौल समूहको प्रतिस्पर्धामा मकवानपुरकी विकिता मोक्तान भने पराजित भएकि छिन् । उनी रामेछापकी स्वस्तिका तिवारीसँग पराजित हुन पुगिन् । ३ राउण्डमा नै भएको खेलमा ५ जना जजहरुमध्ये ३ जना जजले स्वस्तिकालाई विजेता घोषणा गरेपछि विकिता ३–२ स्प्लिटले पराजित भएकी हुन् ।