अमिर श्रेष्ठ ।

हेटौंडाः मकवानपुरका अमिर श्रेष्ठ ए डिभिजन फुटबल क्लब जावलाखेल युुथ क्लबमा अनुबन्ध भएका छन् । आगामी असोज ३ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताका लागि मकवानपुरे खेलाडी अमिर जावलाखेलमा आबद्ध भएका हुन् ।

गत सिजन च्यासलबाट लिग खेलेका अमिरले पहिलोपटक जावलाखेलबाट खेल्दैछन् । आफू यस सिजनको लिग जावलाखेलबाट खेल्ने सम्झौता भएको अमिर आफैले जानकारी दिएका छन् । ए डिभिजन लिगको नयाँ सिजन खेल्न जावलाखेलमा १ वर्षको सम्झौता गरिएको उनले जानकारी दिए । च्यासलसँगको सम्झौता सकिएको र जावलाखेलले राम्रो प्रस्ताव पेश गरेको साथै क्लबमा अन्य खेलाडीहरु पनि राम्रै भएको कारण जावलाखेलमा आबद्ध भएको अमिरले बताए । तर उनले पारिश्रमिक रकम भने खुृलाउन चाहेका छैनन् ।

थ्रीस्टार क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अमिरले २०६६ मा एपिएफ क्लब, २०६८ मा मछिन्द्र क्लब तथा २०६९ सालमा मनाङमस्र्याङ्दी क्लबबाट लिग खेलेका थिए । बिचमा २ वर्ष बैदेशिक रोजगारीको सिलसिलामा २०७१ सालमा कतार पुगेपनि २ वर्षपछि स्वदेश फर्किएर पुनः फुटबललाई नै अंगालेका अमिरले मनाङ्मस्याङ्दीमा नै आबद्ध भएर वि.स. २०७५ सालयता भएको २ सिजन ए डिभिजन लिग च्यासलबाट खेलेका थिए ।