जीतपछि खुशियाली मनाउँदै अर्जेन्टिनी खेलाडी ।

एजेन्सी– अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । साविक विजेता ब्राजिललाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको हो ।

पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाउदै अर्जेन्टिनालाई जीत दिलाए ।
निकै प्रतिस्पर्धात्मक खेलको २१ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।

योसँगै अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । राष्ट्रिय टोलीबाट पाँचौ फाइनल खेलेका मेस्सीले शनिबार कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् । व्यावसायिक फुटबलमा सफलता हासिल गरेका मेस्सीले राष्ट्रको लागि १५ वर्ष खेल्दा भने हालसम्म कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेका थिएनन् । यसपटक मेस्सीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई पराजित गर्दै उपाधि जितेको हो । ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाबाट १५१ खेलमा ७६ गोल गरेका छन् ।

मेस्सीकै कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो । त्यसअघि उनी टोलीमा रहँदा सन् २००७ मा पनि अर्जेन्टिना कोपाको फाइनलमा पुगेको थियो । तर, चारैपटक अर्जेन्टिना फाइनलमा निराश बन्दा मेस्सीले राष्ट्रको लागि कुनै उपाधि जित्न सकेका थिएनन् ।

अर्जेन्टिना २००७ मा ब्राजिलसँग ३–० ले तथा २०१५ र २०१६ मा चिलीसँग स्तब्ध भएको थियो । २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको थियो । यसपटक भने कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन गजबको प्रदर्शन गरे । उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका थिए । अर्जेन्टिनाले गरेको १२ मध्ये ९ गोलमा उनको प्रत्यक्ष भुमिका रहेको थियो ।