हेटौंडाः जनप्रिय माध्यमिक विद्यालयको दिव्यसेवा बालक्लबले आयोजना गरेको चित्रकला प्रतियोगिताका उत्कृष्ट सहभागीहरुलाई पुरस्कार वितरण गरिएको छ । बुधबार जनप्रिय माविका प्रधानाध्यापक नमराज अर्यालले एक कार्यक्रमबीच प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई नगदसहित पुरस्कार वितरण गर्नुभएको हो ।
हेटौंडा–१६ स्थित जनप्रिय माविको दिव्यसेवा बाल क्लबले बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ गत जेठ २८ गते भर्चुअल माध्यमबाट प्रतियोगिता आयोजना गरेको थियो । चित्रकला प्रतियोगितामा मामाघर नेपालका प्रशान्त तामाङ प्रथम हुनुभएको थियो । यस्तै, सिद्धार्थ मावि हेटौंडाकी प्रकृति अर्याल द्वितीय र मामाघर नेपालकै छिरिङ लामा तृतीय हुनुभएको थियो । प्रतियोगितामा जेनिथ इङ्लिस स्कूूलकी श्रृषा श्रेष्ठ र जनप्रिय माविकी आशिका विश्वकर्मा सान्त्वना हुनुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः २ हजार, एक हजार ६ सय, एक हजार र ५ सय रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । कार्यक्रममा मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले मामाघर नेपालको संक्षिप्त इतिहास सुनाउँदै जनप्रिय माविको रचनात्मक कार्यको प्रशंसा गर्नुभएको छ । विद्यालयका प्रधानाध्यापक अर्यालले जनप्रिय मावि मामाघर नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
बाल क्लबको अभियन्तासमेत रहनुभएका विद्यालयका शिक्षक युक्तलाल विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका तर्फबाट कक्षा ११-१२ का संयोजक कल्याणकृष्ण प्याकुरेल, नेपाली तथा अंग्रेजी माध्यम संयोजक नीरबहादुर खड्का तथा रविन श्रेष्ठ, शिक्षक विदूर सापकोटा, लेखा व्यवस्थापक प्रदिप दाहाल, शिक्षकहरु संप्रस पौडेल, मुना थिङ तामाङ, रंणजित शाह, सुनिल गौतम, राजन तिमाल्सिनालगायतको उपस्थिति थियो ।
कार्यक्रममा मामाघर नेपालले निर्माण गरिरहेको सन्देशमूलक चलचित्रका लागि सुनिल गौतमले रचना गर्नुभएको ‘दुख्दैन सडक दिँदैन छानो…’ बोलको शीर्षगीत पनि प्रस्तुत गरिएको थियो ।