हेटौंडाः मकवानपुरका बक्सिङ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेका छन् । संयुक्त अरब इमिरेट्सको राजधानी दुबईमा आगामी अगस्ट १६ तारिख अर्थात् साउन ३२ गतेदेखि हुने ‘जुनियर एन्ड युथ च्याम्पियनसिप’ प्रतियोगितामा सहभागिता जनाउनका लागि तयारीमा जुटेका हुन् ।

तर, यसका लागि खेलाडीले नेपालमै दुई चरणको छनोट पार गर्नुपर्ने हुन्छ । हाल जिल्लामा हुने छनोट र काठमाडौंमा हुने राष्ट्रियस्तरको छनोट प्रतियोगितालाई लक्षित गरेर खेलाडीहरुले प्रशिक्षण लिइरहेको मकवानपुरका बक्सिङ प्रशिक्षक लाला पौडेलले जानकारी दिनुभयो । आगामी जुलाई ११ तारिख अर्थात् असार २७ गतेदेखि काठमाडौंमा हुने राष्ट्रियस्तरको छनोट चरणका लागि प्रशिक्षण भइरहेको उहाँले बताउनुभयो । जिल्लामा भने सामान्य किसिमले छनोट गरिने उहाँको भनाई छ ।

बुधबार पनि मकवानपुर जिल्ला बक्सिङ संघका पदाधिकारीहरु, पूर्वअन्तर्र्राष्ट्रिय खेलाडीहरु तथा राष्ट्रिय रेफ्रीको उपस्थितिमा खेलाडीहरुले आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए । हाल प्रतियोगिताको लागि तयारी गरिरहेका २ महिला र ४ पुरुष खेलाडीमध्ये उत्कृष्ट ३ खेलाडीले मात्र राष्ट्रिय छनोटमा सहभागिता जनाउने प्रशिक्षक पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा जुनियर खेलाडीमा १५ देखि १६ वर्ष उमेर समूहका र युथमा १७ देखि १८ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउन पाउने बताइएको छ । राष्ट्रिय छनोटमा ४ जना खेलाडी लैजान पाउने भएपनि छनोट चरण पार गर्नसक्ने र छनोट हुनसक्ने खेलाडीलाई मात्र सहभागी गराइने मकवानपुर जिल्ला बक्सिङ संघले जनाएको छ । हाल कोरोनाको अवस्था निर्मूल नभएको अवस्थामा धेरै खेलाडी लगेर निराश भएर फर्किनुभन्दा निश्चित र छनोट हुने खालका खेलाडीलाई लैजाने तयारी रहेको संघका अध्यक्ष दीपेश जोशीले बताउनुभयो ।

कोरोनाका कारण निकै समयदेखि खेलाडीहरुले प्रशिक्षण नपाएको अवस्थामा ३ दिनपछिको छनोटका लागि खेलाडीले ८÷९ दिनभित्रमा निकै मिहिनेत गरेको पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी सुशील घिमिरेले बताउनुभयो । राष्ट्रिय छनोट पार गरेको अवस्थामा खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप १ महिना समय मिल्ने र सो समयमा खेलाडीले मात्र नभएर प्रशिक्षकले समेत धेरै नै मिहिनेत गर्नुपर्ने उहा“को भनाई छ ।

राष्ट्रियस्तरको छनोटमा जाने ३ जना खेलाडीहरुको नाम भने शुक्रबारमात्र टुङ्गो लाग्ने प्रशिक्षक पौडेलले बताउनुभयो । छनोट चरणमा जीत हासिल गरेपनि खेलाडीले ‘गेम स्किल’ भएन भने छनोट नहुन पनि सक्ने उहाँले जानकारी दिनुभयो । हाल प्रशिक्षणरत खेलाडी महिलातर्फ जुनियर र पुरुषतर्फ युथ खेलाडी रहेको पनि उहाँले बताउनुभयो ।

बुधबार खेलाडीहरुको परीक्षण कार्यक्रममा मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशी, उपाध्यक्ष उज्जवल शर्मा भण्डारी, सचिव भाजु श्रेष्ठ, सदस्यहरु रोशिक श्रेष्ठ, अनिल दाहाल, शिव श्रेष्ठ, राष्ट्रिय रेफ्री बुद्धि पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।