कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा रचना वाचन एवम् पुस्तक चर्चा कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाईंको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार टीका आत्रेयले नवसर्जक साहित्य चौतारी नेपाल एउटा उदाहरणीय चौतारी बनेको बताउनुभयो । उहाँले चौतारीले गरेको विश्वास र जिम्मेवारीका लागि खुशी व्यक्त गर्दै समीक्षात्मक मन्तव्यसहित रचना वाचन गर्नुभयो । साहित्यका आत्रेयले यो महामारीको समयमा पनि यसरी प्रविधिमार्फत् जोडिएर बाल पुस्ताहरूलाई साहित्यको यात्रामा अघि बढाउन नवसर्जक साहित्य चौतारी नेपाल निकै सक्रिय बन्दै गएकोमा बधाई दिनुभयो ।

भर्चुअल माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष कृतिका लौडारीले दुईवटा गीत र एउटा गजलका साथै आफूले अध्ययन गरेका दर्जन बढी कृतिहरूको विवरण प्रस्तुत गर्नु भएको थियो । उहाँले विवेककुमार शाहद्वारा लिखित ‘मैले देखेको दरबार’ कृतिको समीक्षा गर्नुभएको थियोे ।

संस्थाका सचिव समर्पण न्यौपानेले ३ दर्जन कृतिको विवरण प्रस्तुत गर्नुका साथै ३ वटा गद्य कविता वाचन गर्दै अच्यूत कोइरालाद्वारा रचित ‘मलाला’ कृतिको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार दीपक गौतमले नवसर्जकहरुमा लेखन संस्कृतिको विकासका साथसाथै पठन संस्कृतिको पनि विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । यस्ता कार्यक्रमले नयाँ पुस्तामा अध्ययनबाट बौद्धिक विकासमा पनि थप सहयोग मिल्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा चौतारीका सल्लाहकार समिति संयोजक रमेशमोहन अधिकारीले रचना वाचन एवम् पुस्तक चर्चा कार्यक्रम पहिलेको भन्दा थप परिष्कृत र सक्रियरुपले प्रस्तुत भएको बताउनुभयो । उहाँले नवसर्जकहरूको लेखन एवम् पठन संस्कृतिको दायरा निकै फराकिलो बन्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार समिति सदस्य ओमकुमारी रानाभाट, अर्चना दाहाल, डीबी बर्तौला, अतिथि विष्णुप्रसाद न्यौपानेलगायतको सहभागिता थियो ।