रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रामप्रसाद शर्मालाई अध्यक्षको ट्याग लगाइदिनुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाको अध्यक्षमा रामप्रसाद शर्मा पदस्थापित हुनुभएको छ । बिहीबार हेटौंडा–४, हुप्रचौरस्थित क्लबकै भवनमा पदस्थापन कार्यक्रम भएको हो । क्लबको बर्ष २०२०/२१ का अध्यक्ष शिरोमणि प्याकुरेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो ।

शिरोमणि प्याकुरेलले अध्यक्षको पद हस्तान्तरण गर्नुभएपछि क्लबको ३० औं अध्यक्षको रुपमा पदस्थापित हुनुभएका शर्माले रोटरी क्लबको बर्ष २०२१/२२ का लागि विभिन्न पदमा सदस्यलाई जिम्मेवारी पनि प्रदान गर्नुभएको छ । यसअघि क्लबको बैठकले अर्को कार्यकालका लागि सुयश पराजुलीलाई अध्यक्षको रुपमा चयन गरेको थियो भने स्वागत राज प्याकुरेललाई मनोनित अध्यक्ष चयन गरेको थियो । बिहीबार पदस्थापन समारोहमा अध्यक्ष रामप्रसाद शर्माले क्लबको उपाध्यक्षमा प्रकाश ढकाल, सचिवमा ध्रुब पराजुली, कोषाध्यक्षमा श्याम मुडभरी, सहसचिव उमा रौनियार र सहकोषाध्यक्षमा अर्पण सञ्जेललाई चयन गर्नुभएको छ । पदस्थापनको क्रममा बर्ष २०२१/२२ का लागि विभिन्न पदमा रहेका सदस्यहरुलाई सपथ समेत गराइएको छ ।

एक बर्षे कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका शर्माले बार्षिक कार्ययोजना समेत प्रस्तुत गर्नुभएको छ । क्लबले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिने, त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख गर्नुहुँदै क्लबका सवै सदस्यको सहयोगमा क्लबको भवनको निर्माण कार्यलाई पूरा गरिने अध्यक्ष शर्माले बताउनुभयो । विपन्न वर्गका परिवारलाई निव्र्याजी लघुकर्जाका कार्यक्रमलाई प्रभावकारी बनाउने र थप कार्यक्रमका लागि पनि आफ्नो नेतृत्वमा उल्लेखनीय कार्य गरिने उहा“को भनाइ थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रोटरी क्लबको काममा उपमहानगरले पनि सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष, रोटरी इन्टरनेशनल ३२९२ का एसिस्टेन्ट गभर्नर ज्ञानकृष्ण प्रजापति, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष सुन्दर जोशीको पनि उपस्थिति रहेको थियो ।