हेटौंडाः २०७८ सालयता मकवानपुरका १० वटा सामुदायिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त भएका छन् । विद्यालयको समग्र जिम्मेवारी सम्हाल्नु पर्ने प्रधानाध्यापकको नियुक्ति भने प्रक्रिया विपरित भइरहेको पाइएको छ । प्रक्रिया विपरित भइरहेको नियुक्तिलाई शिक्षा विकास तथा समन्वय इकाईले पनि अनुमोदन गर्दै आएको छ ।

शिक्षा नियमावली २०५९ को परिच्छेद १७ मा प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरेको छ । शिक्षा नियमावली २०५९ को परिच्छेद १७ अन्तर्गत नियम ९३ को उपनियम २ मा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति गर्न कार्यरत शिक्षकहरुबाट दरखास्त आव्हान गर्नुपर्ने व्यवस्था छ । नियम ९३ को उपनियम २ बमोजिम दरखास्त आव्हान भएमा सम्बन्धित शिक्षकले व्यवस्थापन समितिले तोकेको म्यादभित्र विद्यालय विकास प्रस्तावसहित विद्यालय व्यवस्थापन समिति समक्ष दरखास्त दिन सक्नेछ ।

विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक छनोट समिति नै गठन गरेर विद्यालय विकास प्रस्तावसहित शिक्षकहरुको योग्यता, सीप, क्षमता मूल्यांकन गरी सिफारिस गर्नुपर्ने व्यवस्था नियमावलीमा छ । शिक्षा नियमावलीको अनुसूचि १३ अनुसार शैक्षिक योग्यता, शिक्षण अनुभव, तालिम, आवेदक शिक्षकले अध्यापन गरेको विषयको सिकाई उपलब्धी, विद्यालय विकास प्रस्ताव, प्रस्तावको प्रस्तुती, नेतृत्व क्षमतालाई कुल १०० पूर्णाङ्क मानेर आवेदक शिक्षकको मूल्याङ्कन गर्नुपर्नेछ । १०० पूर्णाङ्क मध्ये ६० भन्दा कम प्राप्ताङ्क आए त्यस्तो उम्मेदवार प्रधानाध्यापक नियुक्त हुन योग्य हुने छैन ।

तर, मकवानपुरमा शिक्षा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानाध्यापक नियुक्तिको अभ्यास नै हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत कृष्णप्रसाद पौडेल बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितिको ठाडो निर्णयमा विद्यालयका प्रधानाध्यापक नियुक्त हुने गरेको छ । प्रधानाध्यापकको कार्यकाल ५ बर्षको हुने नियमावलीमा उल्लेख छ । तर, कोही प्रधानाध्यापक दसौं बर्षसम्म निरन्तर कार्यरत छन् ।

यसैबीच २०७८ सालयता मकवानपुरका १० वटा सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको सोझो निर्णयमा प्रधानाध्यापक नियुक्त गरिएको पाइएको छ । मकवानपुरको हेटौंडा–१, भैरव आधारभूत विद्यालयमा बैकुण्ठ पराजुली, हेटौंडा–१९, नेवारपानीस्थित अरनिको माविमा विष्णु परियार, राक्सिराङ गाउँपालिका–५, चुरेडाँडास्थित सुनाचुरी प्राथमिक विद्यालयमा घडलाल स्याङ्तान, राक्सिराङ–८, ठूलोटोड्केस्थित आधारभूत विद्यालयमा तिलक सिन्तान प्रधानाध्यापक नियुक्त भएका छन् ।

यस्तै मकवानपुरगढी गाउँपालिका–६ स्थित ईश्वरी प्राविमा धरणिधर पौडेल, मकवानपुुरगढी–५ स्थित आधारभूत शिक्षा प्राथमिक विद्यालयमा जयप्रकाश महतो, मकवानपुरगढी–५ स्थित उज्ज्वल प्राविमा मन्दिरा घिमिरे प्रधानाध्यापक नियुक्त भएका छन् । बकैया गाउँपालिका–६ स्थित सगरमाथा प्राविमा विष्णुकुमारी स्याङ्तान, बकैया गाउँपालिका–६ स्थित जागृति प्राविमा जयराम अधिकारी र बकैया–१२, जितपुरभञ्ज्याङस्थित सेतीदेवी आधारभूत विद्यालयमा भावना सापकोटालाई प्रधानाध्यापक नियुक्त गरिएको छ ।

विधि र प्रक्रियामा ध्यान दिन्छौंः जिल्ला शिक्षा समिति
हेटौंडाः यसैबीच विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विधि र प्रक्रियाका बारेमा ध्यान दिइने जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनुभएको छ । विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विधि र प्रक्रियालाई आत्मसाथ नगरेको पाइए पालिकास्तरीय शिक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाईमार्फत विद्यालयहरुलाई सचेत गराउने खुलालको भनाइ छ ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल

विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने प्रधानाध्यापक सक्षम हुनुपर्ने उल्लेख गर्नुहुँदै जिल्ला शिक्षा समितिका अध्यक्ष खुलालले प्रधानाध्यापक नियुक्तिको प्रक्रियालाई कडाईका साथ कार्यान्वयन गर्न, गराउन ध्यान दिने बताउनुभएको हा । यस्ता बकैया गाउँपालिकाको शिक्षा शाखाका प्रमुख आइतराम तामाङले अहिलेसम्म विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नियुक्त भएका प्रधानाध्यापकलाई जिम्मेवारी दिने प्रक्रिया पूरा गर्दै आएको उल्लेख गर्नुभयो । आगामी दिनमा विद्यालय व्यवस्थापन समितिको निर्णय मात्रै नहेरी शिक्षा नियमावलीमा उल्लेख भएको विधि र प्रक्रियाअनुसार नै नियुक्तिको प्रक्रिया पूरा भए, नभएको कडाईका साथ हेरिने बताउनुभयो ।