हेटौंडाः प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशमा स्टोर गरेर राखिएको कोभिड–१९ विरुद्धको भारतीय खोप (कोभिशिल्ड) को म्याद असार मसान्तमा सकिने भएको छ । आउँदो जुलाई १५ सम्म खोपको म्याद भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले बताउनुभयो । उहाँले म्याद गुज्रनुअघि नै गत माघ महिनादेखि पहिलो डोज खोप लगाएका फ्रन्टलाइनमा काम गर्नेलाई दोस्रो डोजको खोप लगाउने जानकारी दिनुभयो ।
स्वास्थ्य आपूर्तिबाट बागमती प्रदेशको चितवन, मकवानपुर र सिन्धुलीमा खोप जाने गरेको छ । यसअघि कोभिशिल्ड भने प्रदेश २ को ८ जिल्लामा समेत आपूर्ति केन्द्रबाट पठाइएको उहाँले बताउनुभयो । असार ३१ सम्म म्याद गुज्रने खोप ३० भाइल भएको अधिकारीले बताउनुभयो । उहाँले सो खोप जिल्ला स्वास्थ्य कार्यालय या कुनै पनि स्थानीय तहले आवश्यकताअनुसार माग गर्नसक्ने बताउनुभएको छ । यता प्रदेश आपूर्ति स्वास्थ्य व्यवस्थापन केन्द्रमा भने कोभिड–१९ विरुद्धको चाइनिज खोप भेरोसेल पर्याप्त मात्रामा रहेको छ । २२ हजार ५ सय ६४ भाइल चाइनिज खोप स्टोर गरेर राखिएको छ । भेरोसेल खोपको म्याद भने २०२३ सम्म रहेको छ ।
भेरोसेलको पहिलो डोज खोप लगाएकाले दोस्रो डोज समयमै पाउने प्रमुख बसन्त अधिकारीले बताउनुभयो । उहाँले कोभिशिल्डको भने देशमै स्टक नभएको हुँदा केहीलाई मात्र लगाउन पुग्ने बताउनुभयो । यसैगरी मकवानपुरमा कोभिशिल्डको पहिलो डोज लगाएका २१ हजार ४ सय ३ जना छन् तर उनीहरु सबैले दोस्रो डोज खोप भने लगाउन नपाउने भएका छन् ।
मकवानपुरमा कोभिशिल्ड खोपको म्याद सकिन लागेसँगै खोप लगाउन तिव्र पारिएको छ । यसअघि पनि जुन १५ को अन्तिम म्याद सकिनै लाग्दा कोभिशिल्ड खोप फ्रन्टलाइनमा खटिने कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मीलगायत अन्यलाई दोस्रो डोज लगाइएको थियो । यसैगरी आउँदो जुलाई १५ मा म्याद सकिन लागेको खोपलाई पनि खोप लगाउन छुटेका फ्रन्टलाइन रहने व्यक्ति र नेताहरुले मात्र खोपको दोस्रो डोज लगाउन पाउने भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरलाई प्राप्त कोभिशिल्ड खोप गत माघ १४ गते लगाउन रुचि नदेखाएकाहरुले पनि अहिले लगाएका छन् ।
यता मकवानपुरमा स्थानीय तहलाई लगाउन पठाइएको चाइनिज खोप फिर्ता भएको छ । जिल्लाको दुर्गम तथा विकट क्षेत्रका नागरिकहरुले खोप लगाउन नमानेपछि खोप फिर्ता भएको छ । ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई खोप लगाउन मकवानपुरका स्थानीय तहमा ६५ सय खोप पठाइएको थियो । यसमध्ये ४ हजार ४ सय ४७ जनाले खोप लगाए भने एक हजार ८ सय ९४ फिर्ता भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो । मकवानपुरको हेटौंडा उपमहागरले ४ सय ७०, थाहा नगरले २ सय ७७, ईन्द्रसरोबरले १ सय २६, कैलाशले १ सय ८९, बकैयाले १ सय ९४, बागमतीले ४३, मनहरीले २ सय ८४, भीमफेदीले २ सय ९, राक्सिराङले ३९ र मकवानपुरगढीले ६० जनालाई लगाउन पुग्ने खोप फिर्ता गरेका हुन् ।
फिर्ता भएको खोप प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला खोप समन्वय समितिमार्फत् फ्रन्टलाइनमा खटिने कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मीलाई पहिलो चरणको भेरोसेल लगाएको छ । उनीहरुलाई खोप लगाएसँगै जिल्लामा ६ हजार ४ सय ४८ जनाले भेरोसेलको पहिलो डोज लिएका छन् । खोप लगाउने कार्य अहिले पनि जारी रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।