कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः मकवानपुर जिल्लाका मनहरी गाउँपालिकाकाका चारवटा वडालाई लक्षित गरी बालश्रम न्यूनीकरण परियोजना सुरु हुने भएको छ । गाउँपालिकाको २, ४, ६ र ८ नम्बर वडालाई विशेष प्राथमिकतामा राखेर सिबिन नेपालले परियोजना सुरु गर्न लागेको हो ।

शनिबार सिविन नेपालद्वार आयोजित अन्तरक्रिया कार्यक्रममा मकवानपुर जिल्लालाई नै बालश्रममुक्त गर्ने लक्ष्यका साथ परियोजना सुरु हुने बताइएको छ । २०७८ सालदेखि २०८१ सम्म गरी ३ वर्षसम्म यस परियोजना सञ्चालन गरिने सिविनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ ।

राष्ट्रिय बाल संरक्षण नीति, बालश्रम न्यूनीकरणसम्बन्धी राष्ट्रिय गुरुयोजना एवम् स्थानीय तहमा बनेको बाल संरक्षण नीतिमा समान्ययता ल्याई मनहरी गाउँपालिकाबाट बालश्रम हटाउने उद्देश्यले यस कार्यक्रम सुरु गरिने भएको छ । कार्यक्रमबाट बाल संरक्षण संयन्त्रलाई सबलीकरण गर्दै मनहरी गाउँपालिकाबाट बालश्रम घटाउने अपेक्षा रहेको छ । यसैगरी बालबालिका तथा परिवारलाई आवश्यकताअनुरुपको सहयोग गरी मनहरी गाउँपालिकामा बालश्रम घटाउने अपेक्षासहितको यस कार्यक्रम रहेको छ । समुदायमा बालश्रम हुँदैन भन्ने धारणा र अभ्यासको विकास गर्ने अभिव्यक्तिसहितको उपलब्धि हासिल गर्ने कार्य रहेको बताउनुभयो ।

मनहरी गाउँपालिकामा आधारभूत सर्वेक्षण गरिएको अनुसार धेरै बालबालिका श्रममा जुन १०.१३ प्रतिशत बालश्रममा संग्लन भएको हुनाले विशेषगरी जोखिम क्षेत्रमालाई मध्यनजर गरी यस कार्यक्रम थालनी गरिएको ज्ञवालीले जानकारी दिनुभएको छ । बालहेल्पलाइनले मनहरी गाउँपालिकाको वडा नम्बर १, ३, ५, ७ र ९ का लागि सहयोग गरिने बताउनुभयो । ४ वटा वडाका प्रत्येक वडाबाट ५०/५० जना बालबालिकालाई समेटिने गरी २ सय बालबालिकासहित अभिभावकलाई लक्षित गरेर यस परियोजना हुनेछ ।

मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले मनहरी गाउँपालिका आर्थिक, सामाजिक रुपले विकट क्षेत्र रहेको जानकारी दिनुभएको छ । बिहान बेलुका हातमुख जोर्न धौधौ हुने परिवार भएकाले धेरै समस्या रहेको विष्टले बताउनुभयो । पहिलाको तुलनामा बालश्रम न्युनीकरण भए पनि अन्त्य नहुँदा गाउँपालिकाले सक्दो बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गरेको बताउनुभयो ।