हेटौंडाः मनहरी गाउँपालिकाका वडा नम्बर २ मा सुरक्षित नागरिक आवास निर्माणका लागि लाभग्राही छनौट गरिएको छ । मंगलबार सूचना प्रकाशित गर्दै गाउँपालिकाले २६ जना निवेदकमध्येबाट १९ जना लाभग्राही छनोट गरिएको जानकारी दिएको छ ।
बागमती प्रदेश सरकारको बजेटबाट निर्माण हुने आवास कार्यक्रममा प्रत्येक लाभग्राहीलाई ५० हजार रुपैयाँ दिइने मनहरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आनन्द घलानले जानकारी दिनुभयो । खर तथा परालको छानो भएका घरमा जस्ताको छाना निर्माण गर्न सहयोग गर्ने उद्देश्यले लाभग्राही छनौट गरिएको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारले प्रदेशबाट खरको छानो विस्थापित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याएको हो । पराल तथा खरको छानो भएका परिवारलाई जस्तापाताको छानामुनि ल्याउनेगरी कार्यक्रम अघि बढाएको वडा अध्यक्ष घलानले बताउनुभयो । वडा कार्यालयले लाभग्राही छनौट गरेसँगै ५ दिनभित्र सम्झौताका लागि सम्पर्क गर्न अनुरोध गरेको छ