हेटौंडाः बागमती प्रदेश सरकारले आम संचारगृह स्थापना तथा संचालन गर्ने भएको छ । यसको लागी सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याएकोमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग आम सञ्चारगृह स्थापना र संचालन गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । संचारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन पनि माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘प्रदेशभित्रको सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको पेशागत सुरक्षा, क्षमता विकासको लागि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा सम्बोधन गराउन पटक पटक प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थियौं । तर महासंघले उठाएका एक दर्जन बढि मागहरु कुनैपनि सम्बोधन नगरी स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता बिपरितसंघीय सरकार मातहत रहेका सञ्चारमाध्यम समेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमती प्रदेश सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र पे्रेसलाई निरंकुशताको कडी लगाउन खोजको प्रष्ट भएकोे छ ।’