हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगरभित्रका ८० वटा आधारभूत विद्यालयका कक्षा ८ विद्यार्थीको नतिजा आइतबार उपमहानगरपालिकाले प्रकाशित गरेको हो ।
कोभिड–१९ का कारण निषेधाज्ञा लागू भएपछि तोकिएको आधारभूत तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकेपछि सम्बन्धित विद्यालयले नै तयार पारेको नतिजालाई उपमहानगरपालिकाले प्रमाणति गरेर प्रकाशन गरिएको छ । विद्यालयहरुले प्रथम तथा दोस्रो त्रैमासिक परीक्षाको प्राप्तांक, निरन्तर विद्यार्थी मूल्यांकन तथा थप वैकल्पिक मूल्यांकनको आधारमा नतिजा तयार पारेका थिए । विद्यालयले ईएमआईएसमार्फत् अनलाइन प्रविष्ट गरेको नतिजाको आधारमा उपमहानगरले ग्रेडिङमा परिवर्तन गरेर नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको नतिजाअनुसार ६ सय ६६ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए हासिल गरेका छन् । यस्तै एक हजार ९० जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए प्राप्त गरेका छन् भने एक हजार एक सय ८२ जना विद्यार्थीले २.८ देखि ३.२ सम्म जीपीए हासिल गरेका छन् । यसैगरी ३ सय ३८ जना विद्यार्थीले २.४ देखि २.८ सम्म जीपीए प्राप्त गरेका छन् भने २ं देखि २.४ जीपीए ल्याउने ५५ जना विद्यार्थी रहेको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो । १.६ देखि २ जीपीए ल्याउने विद्यार्थी २२ जना तथा १.२ देखि १ं.६ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहेको उहाँले बताउनुभयो । ०.८ जीपिएदेखि १.२ जीपीए ल्याउने विद्यार्थी भने ४ जना रहेको शिक्षा अधिकृत खड्काले जानकारी दिनुभएको छ ।
विद्यालयले नै नतिजा तयार पारेर उपलब्ध गराएको हुँदा थप नियमन गर्दा शंका लागे अनुसन्धान गरी विद्यालयलाई कारबाही गरिने शिक्षा अधिकृत खड्काले जानकारी दिनुभएको छ । नगरभित्र आधारभूत तह उत्तीर्ण परीक्षामा ३ हजार ३ सय ५७ विद्यार्थी सहभागी थिए ।