एजेन्सी – कोपा अमेरिका कपमा पाराग्वेले बोलिभियामाथि पूनरागमन जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थामा पाराग्वेले १० खेलाडीमा समेटिएको बोलिभियालाई ३–१ ले पराजित गरेको हो ।

ब्राजिलमा आज मंगलबार बिहान भएको खेलमा पाराग्वेको जितमा एन्जेल रोमेरोले दुई तथा एलेसान्द्रो रोमेरोले एक गोल गरे । बोलिभियाका इर्भिन साभेड्राको गोल सान्त्वना बन्यो । इर्भिन साभेड्राले खेलको १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका थिए । तर बोलिभियाले १० खेलाडीमा समेटिएपछि त्यो अग्रतालाई जोगाउन सकेन ।

चौथो मिनेटमा नै पेनाल्टी बक्समा सान्टियागो अर्जमेन्डियाले इर्भिन साभेड्रालाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लामो समयपछि बोलिभियालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा उनी चुकेनन् । एक गोलले पछि परेपछि पाराग्वेले बोलिभियामाथि लगातार आक्रमण बुनेपनि गोल गर्न सकेन । पहिलो हाफको अन्त्यतिर खेल तनावपुर्ण बन्दा बोलिभिया १० खेलाडीमा समेटियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा बोलिभियाका जोउमे कुइलार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसको फाइदा पाराग्वेले उठाउन सफल भयो ।

६२औं मिनेटमा एलेसान्द्रो रोमेरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा एन्जेल रोमेरोले गोल थपेपछि पाराग्वेले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८०औं मिनेटमा एन्जेल रोमेरोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पाराग्वेलाई ३–१ को पूनरागमन जित दिलाए । यो जितपछि समूह ‘ए’ मा पाराग्वे ३ अंक जोडेर शीर्षस्थानमा उक्ला बोलिभिया पुछारमा रहेको छ ।