हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा १ स्थित जरुवाटोलमा स्वास्थ्य भवन शिलान्यास गरिएको छ । संघीय सरकारको ४४ लाख रुपैयाँको लागतमा भवन निर्माण हुने १ नम्बर वडाका अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभएको छ ।

५ कोठे भवन असार महिनामै निर्माण गरी सक्ने न्यौपानेले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुहुँदै स्वास्थ्य सुविधाका लागि सबै वडामा स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको बताउनुभयो ।

१ नम्बर वडाको चौकीटोल, चाइनाक्वाटर र जरुवाटोलका सर्वसाधारणलाई पायक पर्ने गरी स्वास्थ्य इकाई स्थापना हुन लागेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।