हेटौंडाः बागमती प्रदेशले केही दिनमै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम घोषणा गर्दैछ । यतिबेला आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्ष कोभिड महामारीमै बिच बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष पनि कोभिडको दोस्रो लहरमा बजेट प्रस्तुत गर्दैछ । गत वर्ष कोभिडलाई प्राथमिकतामा नपरेको बजेट आगामी वर्षमा भने कोभिड केन्द्रित भएर आउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो ।
प्रदेश सरकारलाई संघले चालू आर्थिक वर्षकै हाराहारीमा आगामी वर्षको बजेट विनियोजन गरेको छ । चालू वर्षमा संघले बागमती प्रदेशलाई १४ अर्ब ८६ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । आउँदो आर्थिक वर्ष ०७८÷७९ को लागि संघले बागमती प्रदेशलाई १४ अर्ब ७२ करोड ६८ लाख बजेट संघले विनियोजन गरेको छ । चालू वर्षभन्दा आगामी वर्षको लागि संघले १४ करोड ३० लाख कम बजेट विनियोजन गरेको हो ।
तर प्रदेश सरकारले चालू वर्षको बजेट भन्दा केही बढाएर आगामी बजेट ल्याउने तयारी गरेको छ । चालू वर्षमा ५१ अर्बको बजेट ल्याएको बागमतीले आगामी ५५ अर्ब हाराहारीमा बजेट प्रस्तुत गर्दैछ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी नीति, कार्यक्रम र बजेटलाई अन्तिम रुप दिँदै छ । ‘समग्रमा बजेटको आकार पनि तय भइसक्यो । स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा परेका छन् ।’ आर्थिक मन्त्री ढुंगेलले भन्नुभयो ।
यता प्रदेशसभामा विपक्षी दलहरु बैज्ञानिक, जनमुखि, सन्तुलन र व्यवस्थित नीति, कार्यक्रम र बजेट नआए पास गर्न नदिने अडानमा छन् । प्रदेश सरकारले अगामी वर्षको नीति कार्यक्रम र बजेट ल्याउन सांसदहरुसँग छलफल समेत गरेको छैन ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले प्रदेश सरकारलाई आगामी नीति कार्यक्रम र बजेटमा सामावेश गर्न दलको सुझाव लिखित रुपमै दिएको अवस्था छ । सरकारले उनीहरुले दिएको सुझावको केही बुँदालाई समावेश गरेर आगामी नीति, कार्यक्रम र बजेट ल्याउने देखिएको छ ।
प्रमुख विपक्षी दलका नेता जम्कट्टेलले विकास बजेट अतिआवश्यताको आधारमा विनियोजन हुनुपर्ने बताउँदै आएका छन् । प्रदेश सभाका सबै सांसदहरुको क्षेत्रहरुमा समानुपातिक बजेट विनियोजन गर्न उहाँले आग्रह गर्नुभभएको छ । उहाँले अतिआवश्यक क्षेत्रमा विकास बजेट विनियोजन गर्न सरकारलाई सुझाव समेत दिनुभएको छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट प्रस्तुत गर्दैछ ।